
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकको सम्मानपूर्ण जीवन सुनिश्चित गर्नु सबैको कर्तव्य भएको बताउनुभएको छ ।
३२ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा आज शनिबार शुभकामना दिँदै उहाँले ज्येष्ठ नागरिकलाई सार्वजनिक सेवामा सहज पहुँच सुनिश्चित गर्न गरिएका व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न ध्यानाकर्षण गराउनुभएको हो ।
ज्येष्ठ नागरिक आफ्नो जीवनभरको संघर्ष र भोगाइबाट आर्जित ज्ञान, सीप र अनुभवका खानी रहेको जनाउँदै उहाँले ज्येष्ठ नागरिकको ज्ञान र अनुभवबाट आजको युवा पुस्ताले जीवनोपयोगी सिकाइ ग्रहण गर्न सक्नुपर्ने बताउनुभयो ।
आफ्नो जीवनको ऊर्जाशील र उत्पादनशील समय राष्ट्रका लागि योगदान गरेका ज्येष्ठ नागरिकको जीवनलाई सहज र सुरक्षित बनाउन सरकारले ज्येष्ठ नागरिक स्वास्थ्य बिमा, सामाजिक सुरक्षा भत्तालगायत सेवा र सुविधाको व्यवस्था गरेको जनाउँदै उनले ज्येष्ठ नागरिक लक्षित कार्यक्रमलाई थप विस्तार गर्दै लैजानुपर्ने उहाँको भनाइ छ ।
संयुक्त राष्ट्रसंघले सन् १९९० को डिसेम्बर १४ मा अक्टोबर १ तारिखलाई ‘अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस’ का रूपमा मनाउने प्रस्ताव पारित गरेपश्चात् विश्वभरि नै आजको दिनलाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको रूपमा मनाउने गरिएको छ ।
राष्ट्रसंघले यस वर्ष अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका लागि ‘ज्येष्ठ नागरिक उत्थानशीलताः बदलिँदो विश्वका लागि अपरिहार्यता’ भन्ने मूल विषय निर्धारण गरेको छ ।
प्रतिक्रिया दिनुहोस्