
काठमाडौं । यस वर्ष दशैंको दिन पानी पर्ने र सडक तथा हवाई यातायात सेवा प्रभावित हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
हाल बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय क्षेत्रको प्रभाव उत्तरपश्चिमी तर्फ सर्दै जाने क्रममा त्यसको असर नेपालमा पनि पर्ने भएको हो ।
जल तथा मौसम विज्ञान विभागले पनि दशैं विशेष मौसम बुलेटिन जारी गर्दै असोज १८ गते नवमीदेखि मनसुनी वर्षा सक्रिय हुने जनाएको छ । नवमीको दिन देशभर आंशिकदेखि सामान्यतया बदली रही प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशहरूका केही जिल्लामा र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
यसैगरी असोज १९ गते दशैंको टीकाको दिन त भने केही स्थानमा अति भारी वर्षाको सम्भावना छ । महाशााकाअनुसार असोज १९ गते देशभर बादल लाग्ने र गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा अति भारी वर्षा हुने छ । असोज २० गते एकादशी र २१ गते द्वादशीको दिनमा पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशहरूका केही स्थानमा धेरै भारी वर्षाको सम्भावना छ ।
बंगालको खाडीमा सामुद्रिक आँधीका कारण मनसुन कम्तीमा एक साता पर गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । १६ असोज भित्र बाहिरिसक्नुपर्ने मनसुन सामुद्रिक आँधीका कारण एक साता पर गएको हो ।
प्रतिक्रिया दिनुहोस्