८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


रुसद्वारा युक्रेनका चारवटा राज्य अधीनस्थ


377
Shares

एजेन्सी । रुसले युक्रेनका चारवटा राज्यलाई औपचारिक रूपमा आफ्नो सम्प्रभुताभित्र गाभेको घोषणा गरेको छ । रुस र युक्रेनबीच भएको सात महिने युद्धपछि कब्जामा लिएका ती भूभागलाई रुसी अधीनस्थ भएको दावी गरेको हो ।

युक्रेनको पूर्वीदक्षिणी भूभागहरू दोनेत्स्क, लोहान्स्क, जापोरिजिया र खेर्सनलाई रुसले औपचारिक गाभेको जनाएको छ । क्रेमलिनमा आयोजित औपचारिक कार्यक्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले एक दस्तावेजमा हस्ताक्षर गरी ती भूभागलाई रुसमा गाभेको घोषणा गर्नुभयो ।

तीन दिन अघि ती क्षेत्रमा भएको जनमत संग्रहपछि रुसी भाषी बाहुल्य वा रुस समर्थित विद्रोहीको कब्जामा रहेको ती भूभाग रुसमा विलय गरिएको हो । ती भूभाग रुसमा विलय गरेपछि राष्ट्रपति पुटिनले ती चार क्षेत्रका जनता सधैका लागि रुसी जनता भएको घोषणा गरी अधिनस्थ क्षेत्रको सुरक्षा रुसले गर्ने प्रतिवद्धता जनाउनुभयो ।

सन् २०१४ मा विलय गराइएको क्रिमियासँगै ती भूभाग रुसले आफ्नो कब्जामा राख्न सके करिब एकलाख ३६ हजार वर्गकिलोमिटर अर्थात २२ प्रतिशत भन्दा बढी हुने बताइएको छ । यस्तो घोषणापछि युक्रेन, पश्चिमी शक्ति राष्ट्र र संयुक्त राष्ट्र संघले रुसी कदमको निन्दा गरेको छ । फेब्रुअरी २४ देखि एकतर्फी रुसले युक्रेनमाथि गरेको सैन्य हमलापछि सर्वाधिक निन्दनीय कदम भएको पनि ती देशले आरोप लगाएका छन् ।