
चन्द्र कटुवाल
खाना राम्रोसँग खाएमा चिकित्सक आश्श्यक पर्दैन । यदि खाना जथाभावी खाईयो भने कुनै चिकित्सकले पनि उपचार गर्न सक्दैन भन्ने भनाई रहेको छ । खानालाई कसरी खाने ? कस्तो खाने ? र कति खाने ? भन्नेकुरा हाम्रा बिभिन्न शास्त्रहरुमा उल्लेख भएको पाईन्छ ।
महर्षि चरकका अनुसार खाना पथ्य र अपथ्य बनाउने बिभिन्न कारणहरु हुन्छन् । जस्तै खानाको मात्रा, समय, प्रक्रिया, स्थान, र यसमा रहेका गुणहरु, त्यसै गरि शुश्रुतका अनुसार ब्यक्तिको प्रकृति अनुसारको खाना सिफारिस गरिएको छ । उनका बिभिन्न प्रकारका बर्णनहरु मध्येमा औषधीयुक्त भोजन महत्वपूर्ण रहेको छ । खानालाई औषधीको रुपमा खानुपर्दछ नत्र पछि औषधी नै खाना खाए जसरी खानु पर्ने हुन्छ ।
यसैगरी उपनिषदको पाँचवटा मुख्य वचन मध्येको एउटा महत्वपुूर्ण वचन आहार रहेको छ । जस्तो अन्न त्यस्तै मन । अन्नहि ब्रह्मन । र तैतरीय उपनिषदले अन्नदानलाई सबैभन्दा उच्च प्रकारको दान भनेको छ ।
खासमा आहार शुद्दिले सत्व शुद्दि हुन्छ । सत्व शुद्दिले स्मृति निर्मल हुन्छ । र स्मृति निर्मल भएपछि मन स्थिर हुन्छ । मन स्थिर भएपछि जन्मजन्मान्तरको बन्धनबाट मुक्ति मिल्छ र बन्धन मुक्तिले मोक्षप्राप्ति हुन्छ । त्यसैले पनि भोजनको शुद्दि महत्वपुर्ण रहेको छ ।
नेपालीहरुको महान–चाड दशैं पर्व हर्षउल्लासका साथ भित्रिसकेको छ । यतिखेर हामी सबैको मन मष्तिस्क हर्ष–उल्लास, उमंगले भरिएको हुन्छ । चाड–पर्वको नाममा गरिने खानपानको लापरवाहीले कतै हाम्रो स्वास्थ्यमा प्रतिकूल असर पर्ने त होइन ! यो कुरालाई पनि ख्याल गर्नुपर्दछ । किनभने स्वस्थ काया अर्थात स्वस्थ शरीर पहिलो सुख मानिन्छ ।
खानालाई हिताहार मिताहार र ऋताहार गरि तीन भागमा बाँडिएको छ । जसले शरीरलाई हित गर्दछ त्यो हिताहार । जसले हाम्रो शरीरलाई फाईदा गर्दछ त्यसलाई मिताहार र मौषम अनुसारको अर्थात ऋतु अनुसारको खाना जे पाईन्छ त्यहि खानालाई ऋताहार भनिन्छ । अब खानपानको साथै योगको कुरा गरौं ।
हर्षोल्लाससँगै स्वास्थ्यलाई बचाइराख्नको निम्ति दैनिक योगाभ्यास नै उत्कृष्ट माध्यम हो । योगले तनमन दुबै स्वस्थ हुने भएकोले खानपान र योगको तालमेल मिलाउनु पर्दछ । निम्न योग अभ्यासलाई उपयुक्त मानिन्छ ।
१. सूक्ष्म योग :
सूक्ष्म व्यायामका मुख्य क्रियाकलाप जसले शरीरको जोर्नीहरूलाई स्वस्थ बनाउँछ र स्नायु प्रणालीलाई बल, जोश र स्वस्थता प्रदान गर्दछ । शिरदेखि पाउसम्म प्रत्येक अंग लक्षित यो ब्यायाम अत्यन्त लाभकारी मानिन्छ । कुनै पनि योगाशन गर्नु पूर्व सूक्ष्म ब्यायाम गर्न जरूरी हुन्छ । यी शरीर तताउने आशनहरु हुन् ।
२.सूर्यनमस्कार : ‘सूर्यनमस्कार’को अभ्यास प्राय सबै उमेर वर्गलाई उत्तम हुन्छ । यसले तपाईलाई एकैसाथ १२ योगाशनको लाभ दिन्छ र त्यसैले यसलाई उत्कृष्ट योगाशन पनि भनिन्छ ।
शरीरलाई स्वस्थ राख्नको लागि योगाभ्यास र शारिरीक हिँडडुल आवश्यक मात्रै नभएर दिमागलाई पनि तन्दुरुस्त राख्न जरुरी छ । सूर्यनमस्कारको १२ चरणको दैनिक अभ्यासले दिमागलाई सक्रिय र केन्द्रित बनाउँछ । दशैं बिशेष बढ्दो खानपान शैलीलाई ध्यानमा राखी यो योगाशन गर्नाले पक्कै पनी फाईदा पुग्दछ । अझै संपूर्ण परिवार मिलेर एकै ठाउँमा गर्दा ऊर्जा आदान –प्रदान हुन सक्छ । साथै पूरै परिवारले यसको लाभ लिन सक्छन् । यो सामान्यतया बिहान खाली पेटमा अभ्यास गर्नुपर्दछ । सूर्यनमस्कार बिहान खुला ठाउँमा बसेर ताजा हावामा गर्दा अझै बढ़ी फाइदाजनक हुन्छ ।
३. आशनहरु
नौकाशन : पाचन शक्ति सुधार्न मद्दत गर्छ । एसिडिटी र कब्जियतबाट छुटकारा मिल्दछ ।
पवनमुक्ताशन : मुटु स्वस्थ राख्ने, रक्त परिसंचरण सुधार, मधुमेह नियन्त्रण,पेटको बोसो घट्नुका साथै आँखाको ज्योति बढाउँछ ।
हलाशन : पाचन सुधार गर्न मद्दत गर्दछ । मेटाबोलिज्म बढाउँछ । शरीरको तौल घटाउन मद्दत गर्दछ । चिनीको मात्रा नियन्त्रण गर्छ । मेरुदण्डमा लचिलोपन बढाउँछ र ढाड दुखाइमा राहत प्रदान गर्दछ । तनाव र थकान कम गर्छ ।
पश्चिमोत्तशन : यो आशन गर्नाले शरीर स्वस्थ र फूर्तिलो रहन्छ । यसका साथै यो आशन गर्नाले मिर्गौलाको समस्या, हड्डी दुख्ने समस्याबाट छुटकारा पाउनुका साथै उचाइ बढाउन मद्दत गर्छ । खान पान र योगमा ध्यान दियौं भने तन मन दुबै स्वस्थ हुन्छ ।
प्रतिक्रिया दिनुहोस्