१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


आज बडा दशैंको आठौं दिन महागौरीको पुजा गरिदैं


130
Shares

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादशैं अन्तर्गत नवरात्रको आठौं दिन आज दुर्गा भवानीका नौ रुपमध्ये आठौं रुप महागौरी देवीको पूजा आराधना गरिँदैछ ।

बडादशैंमा घटस्थापना गरेर जमरा राखेको दिनदेखि नौ दिनसम्म दुर्गा भवानीका विभिन्न नौ वटा फरक –फरक रूपहरूको पूजा गर्ने परम्परा रहेको छ । त्यसै अन्तर्गत सोमबार महागौरी देवीको पूजा आराधना गरिदैछ ।

भगवान शिवले पार्वतीसँग विवाह गर्दा पार्वतीको नाम बदलेर गौरी राखीदिएका थिए । उनको यही स्वरुपलाई गौरीको नामले पुजा गरिन्छ । परमकल्याणकारी र ममता भरिएको महागौरीको पूजाले पाप नष्ट हुने, दरिद्रता र कष्ट नष्ट हुने विश्वास रहेको छ।

गणेशको रुपमा स्थापना गरिएको कलशको छेउमा नौ वटा साना साना ढुङ्गाहरुलाई नवदेवीका प्रतिमाका रुपमा स्थापित नैवेद्य, फलफूल आदि चढाएर पूजा गर्ने गरिन्छ। घटस्थापनाको दिन वैद्धिक परम्परा अनुसार स्थापना गरिएको कलश र जमरा राखिएको ठाँउमा आज विधिपूर्वक पूजा अर्चना गरिन्छ ।

आजको दिन भद्रकालीको पनि विशेष पूजाअर्चना गरिन्छ। सतिदेवीले आफ्नो पती महादेवको आफ्नै पिता दक्षप्रजापतीको मुखबाट गरिएको निन्दा सुन्न नसकेर अग्नीकुण्डमा हामफालेर आत्मदाह गर्दछिन्, त्यसै बखत यो कुरा थाहा पाएर रिसले चुर भएका महादेवबाट महाकालीको रुपमा भद्रकाली यसै दिन प्रकट भइन् र शक्तिकी महास्वरुपा महागौरी र भद्रकाली स्वरुपको अनुष्ठान गरिसकेपछि आजको दिन वलिदिने चलन रहेको छ ।

यसरी वलि दिंदा बोका, कुखुरा, हाँस आदि चढाउने चलन छ भने शाकाहारी र वलि दिन नचाहनेहरुले कुभिन्डो, घिरौला आदि फलफूललाई चार हातखुट्टा जस्तो साना साना लठ्ठी हालेर जनावरको स्वरुपमा वलि दिने गर्दछन् ।

घटस्थापना गरेसँगै नौ दिनसम्म नवदूर्गाका नौवटा रूपहरूमध्ये पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुस्माण्डा, पाँचौ दिन स्कन्द माता, छैठौंं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्री देवीको पूजा आराधना गर्ने चलन छ ।

आजको दिन हनुमान ढोकास्थित तलेजु भवानी मन्दिरको दशैं घरमा ५४ वटा राँगा र ५४ वटानै बोकाको वलि दिइन्छ । काठमाडौं उपत्यका वरिपरिका शक्तिपीठहरु जस्तै दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभा भग्वती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, सङ्कटा, बज्रबाराही लगायतका मन्दिरहरूमा पूजा आराधना गरी बलि चढाउनेहरुको घुइँचो लाग्ने चलन छ ।