
काठमाडौं । इंग्ल्यान्डले घरेलु टोली पाकिस्तानविरुद्धको ७ खेलको टी–ट्वान्टी सिरिज जितेको छ ।
लाहोरमा आइतबार राति अन्तिम खेलमा पाकिस्तानलाई ६७ रनले हराउँदै सिरिज जितेको हो । योसँगै ७ खेलको सिरिज इंग्ल्यान्डले ४–३ ले जितेको हो ।
अन्तिम खेलमा जितको लागि २ सय १० रनको विशाल लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४२ मात्र रन बनायो ।
पाकिस्तानका लागि शान मासुदले ५६, खुशदिल शाहले ३७ तथा इफ्तिखर अहमेदले १९ रन बनाए ।
इंग्ल्यान्डका क्रिस वोक्सले ३ तथा डेविड विलिले २ विकेट लिए । यस्तै, रिस टोप्ली, आदिल राशिद र साम करनले एक एक विकेट लिए ।
त्यसअघि लाहोरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ९ रन बनाएको थियो ।
इंग्ल्यान्डका लागि डेविड मालनले अविजित ७८, ह्यारी ब्रुकले अविजित ४६, बेन डुकेटले ३० तथा फिल साल्टले २० रन बनाए ।
पाकिस्तानका मोहमद हस्नेनले एक विकेट लिए ।
प्रतिक्रिया दिनुहोस्