
एजेन्सी । दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ मा रावणको भूमिकामा देखिएका भारतीय सुपर स्टार सैफ अली खानलाई जुन लुक (आवरण) मा देखिएको छ त्यसलाई लिएर विबाद भएको छ ।
आदिपुरुषको टिजर सार्वजनिक भएसँगै खानको लुकलाई लिएर विवाद भएको हो । भारतीय संचार माध्यममा अनुसार खानलाई रावणको लुकमा एकदमै फरक देखिएको छ । रावणको अवतारमा खानको कपाल छोटो छ,उनले कालो रंगको पोशाक लगाएका छन् र निकै डरलाग्दो देखिएको छ ।त्यसैगरी पुष्पक विमानको सट्टा उनलाई चमेरो जस्तो प्राणीमा उडिरहेको देखाइएको छ । उनको यही अवतारलाई लिएर बिवाद सुरु भएको हो । दक्षिण भारतीय फिल्मका सुपरस्टार प्रभासको पनि फिल्ममा मुख्य भूमिका रहेको छ । यो फिल्मको टिजरलाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले पनि नराम्रो भनेका छन् । फिल्ममा लाइभ एक्सनको सट्टा एनिमेटेड देखिएको र खानको रावण अवतार पनि राम्रो नभएको उनीहरुको भनाई छ । त्यसैगरी अखिल भारतीय हिन्दू महासभाका राष्ट्रिय अध्यक्ष स्वामी चक्रपाणि महाराजले पनि फिल्ममा खानको लुकलाई लिएर निन्दा गरेका छन् । स्वामीले भनेका छन्– ‘दक्षिण भारतीय फिल्म आदिपुरुषमा सैफ अली खानले भगवान शिवका अनन्य भक्त लंकापति रावणको भूमिकामा आतंकवादी खिलजिया वा चंगेज खान वा औरंगजेब जस्तो चित्रण गरिएको छ । निधारमा न तिलक छ न त्रिपुण्ड, हाम्रा पौराणिक पात्रहरूसँग गडबड गर्न बन्द गर्नुहोस्’ ।
यसैगरी सत्तारुढ भारतीय जनता पार्टीकी प्रवक्ता र मालविका अभिनाशले आदि पुरुषको बारेमा पनि खानको अवतारलाई लिएर सामाजिक संजालमा यसो भनेकी छिन्–‘वाल्मीकि केरावण, इतिहासका रावण, लंकाधिपति, महाशिवका भक्त जो ६४ कलामा निपुण थिए,जसले आफ्नो सिंहासनमा ९ ग्रह स्थापना गरेका थिए । थाइल्याण्डका मानिसहरू रामायणमा कति सुन्दर नाच्छन् ’। उनले रावण जस्तो पात्रको बारेमा थोरै पनि अनुसन्धान नगरेर फिल्म बनाइएको भन्दै असन्तुष्टि जनाएकी छिन् ।
सामाजिक संजाल प्रयोगकर्ताहरूले खानको रावण अवतारलाई ‘खिलजी’ (कुनै समयका भारतीय शासक) सँग तुलना गरेका छन् । निर्देशक ओम राउतको फिल्मको रावण वास्तविक रामायणको रावणभन्दा बिल्कुलै फरक रहेको प्रयोगकर्ताहरूको भनाई छ । राउतको फिल्म रामायणको कथामा आधारित छ ।
यसमा प्रभास रामको भूमिकामा देखिनेछन् । कृति सेनन,सीताको भूमिकामा सन्नी सिंह निज्जर लक्ष्मणको भूमिकामा, सैफ अली खान रावणको भूमिकामा र अभिनेता देवदत्त नागे हनुमानको भूमिकामा देखिनेछन् । यो चलचित्र १२ जनवरी २०२३ मा रिलीज हुने भारतीय संचार माध्यमले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्