९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


बागेश्वरी मन्दिरमा यक्ष र मोक्ष पाउने आशामा ब्रतालुले जिब्रो छेडे


260
Shares

काठमाडौं । महानवमीका दिन आज मंगलबार पश्चिम नेपालको प्रशिद्ध शक्तिपीठ नेपालगञ्जको बागेश्वरी मन्दिरमा हिन्दु धर्मावलम्बीले यक्ष र मोक्ष पाउने आशामा जिब्रो छेडेका छन् ।

नेपालगञ्जमा रहेको प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरमा बडा दशैंको घटस्थापनाका दिनदेखि नै निराहर ब्रत बसेका पुरुषले आफ्नो भाकल पूरा गराउन वा मागेको बर पूरा भएपछि देवी बागेश्वरीलाई जिब्रो छेडेर चढाउने चलन परापूर्वकालदेखि नै चल्दै आएको हिन्दु धर्मगुरु तथा बागेश्वरी मन्दिरका मुलपुरोहित चन्द्रनाथ योगीले बताउनुभयो ।

उहाँले केही समय अघिसम्म भक्तजनले देवीलाई जिब्रो नै काटेर चढाउने गरेका र अहिले भने जिब्रो छेडेर दर्शन गर्ने चलन रहेको बताउनुभयो । उहाँले भक्तजनले आफ्नो मनोकांक्षा पूराहोस् भनेर तथा भाकल गरेकाहरुको भाकल पूरा भएपछि जिब्रो छेड्ने परम्परा रही आएको बताउनुभयो । महन्थ योगीले देवीको मन्दिरमा पशुबली चढाउने परम्पपरा रहेको र केही भक्तजनहरुले आफ्नै रगत चढाउने उद्देश्यले जिब्रो छेड्ने गरेको स्पष्ट पार्नुभयो ।

उहाँका अनुसार नवरात्रको ब्रत बसेका ब्रतालु पुरुषहरु नवमीको दिन मन्दिरमा आफ्नै जिब्रो तिखो धातुले छेड्ने परम्परा रहेको र हरेक वर्ष करिब १ सय ५० भन्दा बढी धर्मावलम्बीले जिब्रो छेड्ने गरेका छन् । नेपालगञ्जको बागेश्वरी मन्दिरमा बडादशैं र चैतेदशैंमा जिब्रो छेडेर बागेश्वरी माताको दर्शन गर्ने चलन रहेकाे छ ।