२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


राष्ट्रपति भण्डारीद्वारा उच्च अधिकारी र नागरिकलाई दशैंको टीका र जमरा प्रदान


78
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिक र उच्च पदस्थ अधिकारीहरुलाई दशैंकाे टीका लगाइदिनुभएको छ ।

बुधबार राष्ट्रपति निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, कार्यवाहक प्रधानन्यायाधीश हरिकृष्ण कार्की, अख्तियार प्रमुख प्रेमकुमार राई, प्रधान सेनापति प्रभुराम शर्मा, नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, प्रतिनिधि सभाका पूर्वसांसद, राष्ट्रिय सभाका सांसद र उच्च पदस्थ अधिकारीहरुलाई टीका लगाइदिनुभएको थियो ।

बुधबार दिउँसो २ बजेदेखि ३ बजेसम्म विशिष्ट र ३ बजेपछि आम नागरिकलाई टीकाको समय छुट्याइएको थियो । यसअघि विजया दशमीको शुभ साइतमा राष्ट्रपति भण्डारीले परिवार र आफन्तलाई टीका र जमरा लगाइदिनुभएको थियो । त्यस्तै उहाँले विजया दशमीको दिन मुलगुरू देवराज अर्याल र खेमचन्द्र ढकालको हातबाट बडा दशैंको टीका ग्रहण गर्नुभएको थियो ।

भातृशोकमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले टीका नलगाएको र अरुलाई पनि टीका नलगाइदिएको सचिवालयले जनाएको छ । प्रधानमन्त्री देउवाका भाइ प्रेमबहादुर देउवाको निधन भएको एक वर्ष पुगेको छैन् । भ्रातृशोकका कारण प्रधानमन्त्री देउवाले परिवारका अन्य सदस्यलाई समेत टीका नलगाउनुभएकाे हाे ।