
काठमाडौं । युक्रेनलाई थप सैन्य सहयोग गर्ने अमेरिकी निर्णयबाट रूस रूष्ट बनेको छ ।
यसले अमेरिकासँग सीधा सैन्य भिडन्तको जोखिम बढाएको चेतावनी रूसले दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
अमेरिकाका लागि रूसी राजदूत एनाटोनी एन्टोनोभले युक्रेनलाई सैन्यसहितका थप सहयोग गर्ने अमेरिकी घोषणा रूसका तात्कालीक चेतावनी रहेको बताएका छन् ।
उनले अमेरिकालाई द्वन्द्वको एक भागिदारका रूपमा चित्रित गरेका हुन् । हतियारसहितको अमेरिकी सहयोगले रूसी कब्जामा रहेको क्षेत्र पुनः नियन्त्रणमा लिने अभियानमा रहेको युक्रेनलाई सहयोगी हुने अपेक्षा गरिएको छ ।
युक्रेनी सेनाले उत्तर पूर्व र दक्षिणी क्षेत्रमा पछिल्ला हप्ता महत्त्वपूर्ण सफलता हासिल गरेको बताइएको छ । जसका कारण अमेरिकाको सहयोग रहेको रूसी बुझाइ छ ।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि युद्ध घोषणा गरेयता अमेरिकाले युक्रेनलाई करिब १७ विलियन अमेरिकी डलर बराबरको सहयोगको वाचा गरिसकेको छ । रूसले गएको फ्रेबुअरी २४ देखि युक्रेनमाथि आक्रमण गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्