१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गण्डक ब्यारेजका २२ वटा ढोका खोलियो


39
Shares

काठमाडौं । लगातार परेको वर्षाका कारण नारायणी नदीमा पानीको सतह बढ्दै गएको छ । पानीको बहाव बढेपछि ३६ मध्ये २२ ढोका खुला गरिएको छ ।

बुधबार रातिदेखिनै नारायणी नदीको जलसहत बढ्ने क्रममा रहेकाले हुनसक्ने जोखिमीलाई मध्यनजर गर्दै गण्डक ब्यारेजका २२ वटा ढोका खोलिएको त्रिवेणीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रजिन रानाले जानकारी दिनुभयो ।

लगातारको वर्षाका कारण नारायणी नदीमा पानीको बाहव बढ्दा यसले क्षति पुर्‍याउन सक्ने भएकाले ब्यारेजका २२ वटा ढोका खोलिएको हो । उहाँका अनुसार बिहान ७ बजेको मापनानुसार पानीको बहाव दुई लाख ४० हजार क्युसेक प्रतिसेकेन्ड पुगेको छ ।

गण्डक ब्यारेजमा पानीका सतह बढ्दो क्रममा रहेको र हुनसक्ने जोखिमीलाई मध्यनजर गरी आफूहरुले समन्वय गरिरहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताउनुभयो । गण्डक ब्यारेजमा नारायणी नदीको जलसतह हेरेर आवश्यकताअनुसार ढोका खोल्ने काम हुने उहाँको भनाइ थियो । पानी पर्ने क्रम जारी रहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रुपमा रहनसमेत उहाँले आग्रह गर्नुभयो ।

गण्डक ब्यारेजमा दुई लाख ५० हजार क्युसेक पानीलाई चेतावनीको तह र तीन लाख क्युसेक पानीलाई खतराको तह मानिन्छ ।