१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


उम्मेदवार टुंगो लगाउन कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्दै


208
Shares

काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन समितिको बैठक बस्न लागेको हो ।

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बालुवाटारमा दिउँसो १२ बजे बस्नेछ । बिहिबार बोलाइएको समितिको बैठक सत्ता गठबन्धनमा रहेका दलहरुको बैठकका कारण बस्न सकेको थिएन । कार्यसम्पादन समितिमा रहेका नेताहरुको प्रदेश अनुसार फरक–फरक बैठक बसेर सोही बैठकबाट सिफारिस नाम अनुसार संसदीय समितिले नाम टुंगो लगाउने एक कांग्रेस नेताले बताए ।

कांग्रेसले उम्मेदवार चयन गर्दा पार्टीको विभिन्न तहबाट विधान बमोजिम उम्मेदवारको लागि भएको सिफारिस, व्यक्तिगत योग्यता, नैतिकता, कार्य क्षमता,लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदान, सामाजिक भूमिका, पार्टीको विभिन्न तह र क्षेत्रमा गरेको योगदान, लोकप्रियता एवं आगामी दिनको संभावना समेतलाई आधार बनाएको छ । कांग्रेसले गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा कुनै पनि पदमा उम्मेदवार भएको व्यक्तिलाई प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवार नबनाउने मापदण्ड बनाएको छ ।

असोज २३ गते प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको समय भएकाले आज र भोलि उम्मेदवार छनोट गरिसक्ने कांग्रेसको तयारी छ । तर, सत्तागठबन्धनमा सिट बाँडफाँट नटुंगिएकाले कांग्रेस उम्मेदवार छनोटमा अलमलमा रहेको छ ।