
काठमाडौं । नेकपा (एमाले) का नेता घनश्याम भुसालले सत्तारूढ गठबन्धनको समर्थनमा रुपन्देही क्षेत्र नं. १ बाट बाम स्वतन्त्र उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।
आइतबार बिहान पत्रकार सम्मेलन गरी नेता भुसालले बामपन्थी एकताको पहल गर्ने उद्देश्यका साथ प्रतिनिधि सभामा स्वतन्त्र उम्मेदवारी दिन लागेको बताउनुभयो ।
नेता भुसालले आफूलाई सत्तारूढ गठबन्धनका दलहरूले समर्थन गर्ने प्रतिवद्धता जनाएको पनि बताउनुभयो । उहाँले आफूलाई नेकपा (माओवादी केन्द्र) ले आफ्नो चुनाव चिन्हबाट उम्मेदवारी दिन आग्रह गरेको भएपनि आफूले स्वतन्त्रबाट नै उम्मेदवारी दिन चाहेको बताउनुभयो ।
नेता भुसालले बाम एकताको कुरा गरेकै कारण आफूलाई किनारा लगाइएको दाबी गर्नुभयो । उहाँले नीति अनुसारको नेतृत्व आएको भए नेकपा (एमाले) भ्रष्टाचार नगर्ने नेताहरूको पार्टी बन्ने र एमाले नेतृत्वको सरकार रोजगार दिने पार्टी हुने दाबी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्