
काठमाडौं । अभिनेता हरिवंश आचार्यले फेसबुक ग्रुप एमआरआरसँग दशैँको शुभकामना साटासाट गरेका छन् ।
युवाहरूको बिचार र सद्भाव राख्ने ग्रुपको रुपमा परिचित एमआरआरका युवाहरूलाई शनिवार आयोजित कार्यक्रममा दशैँ टिका लगाउदै आशिर्वाद दिएका हुन् । आपसी सद्भाव र सामीप्यताको लागि युवाहरूले वर्षेनी कार्यक्रम आयोजना गर्ने गरेका छन् ।
यस्तै, महापुरुष टिमले मोफसल टुर गर्ने भएको छ । प्रमोशनल टुरमा हरिवंश आचार्य, राजाराम पौडेल, गौरी मल्ल, रबिन्द्र सिंह बानियाँ, अरुण क्षेत्री, अन्जना बराईली, कमेडियन सुमन कार्की, गायक निशान भट्टराई रहेका छन् । केही स्थानमा मदनकृष्ण श्रेष्ठ पनि सहभागी हुने सेड्युल रहेको तथा हाँस्य , संगीत सहितको प्रस्तुति रहने कलाकारसँगै कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँले बताए ।
बानियाँको अनुसार ‘महाभ्रमण’ अन्तर्गत असोज २५ मा विर्तामोड स्थित वान स्टप मल, असोज २६ इटहरीमा जनता प्राविको मैदान र विराटनगरको सेन्ट्रल मल, असोज २७ मा हेटौडाको हुप्र चौर, असोज २८ मा नारायणगढको नारायणी नदी किनार, असोज २९ मा बुटवलको अमरपथमा रहेको टक्सार कम्प्लेक्स अगाडी र असोज ३० मा पोखराको हलन चोकमा भेटघाट तथा प्रस्तुति हुने छ ।
दर्शकसँग साक्षात्कार गर्दै चलचित्र बारे जानकरी दिनु आफू आतुर रहेको अभिनेता आचार्यले बताए । ‘महाभ्रमण’ मा सुमन कार्कीले हाँस्य प्रस्तुति र निशान भट्टराईले सांगीतिक प्रस्तुति दिने छन । सामाजिक विषयवस्तुमा आधारित फ्यामिली ड्रामामा हरिवंशसँगै मदनकृष्ण श्रेष्ठ, रविन्द्र सिंह बानियाँ, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, पण्डित प्रज्वल लुइँटेल लगायतको अभिनय रहेको छ ।
उक्त चलचित्र मार्फत अरुण क्षेत्री र अन्जना बराईलीले डेब्यु गर्दैछन् । उक्त चलचित्रको निर्देशक रहेका प्रदीप भट्टराईले नै चलचित्रको कथा लेखेका छन् । फिल्ममा दीपक बज्राचार्यले छायांकन , मित्र डी. गुरुङले सम्पादन गरेका हुन् ।
यस चलचित्रबाट कवि नवराज पराजुलीले गीतकारको रुपमा डेब्यु गरेका छन् । षट्कोण आर्ट्स प्रा.लि.को व्यानारमा निर्मित फिल्ममा कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री रहेका छन् । षट्कोण आर्ट्सले यसअघि टलकजङ भर्सेस टुल्के, जात्रा र जात्रै जात्रा निर्माण गरेको छ ।
कलाकार समेत रहेका बानियाँ कथावस्तुले दर्शकको मन छुनेमा विश्वस्त छन् ।
प्रतिक्रिया दिनुहोस्