
दाङ । सत्ता गठबन्धन र नेकपा (एमाले) का उम्मेदवारहरूले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ दाङका तीन वटै निर्वाचन क्षेत्रबाट उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ ।
दाङ निर्वाचन क्षेत्र नं १ मा सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का नेता एवं सहरी विकासमन्त्री मेटमणि चौधरीले उम्मेदवारी दर्ता गराउनुभयो ।
लमहीस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर दिउँसो तीन बजे उहाँले आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको निर्वाचन अधिकृत मानबहादुर बिष्टले जानकारी दिनुभयो ।
उम्मेदवारी दर्ता गर्दै मन्त्री चौधरीले संविधान रक्षाका लागि गठबन्धनको साझा उम्मेदवार भएकाले आफ्नो जित सुनिश्चित रहेको बताउनुभयो ।
सो क्षेत्रबाट नेकपा (एमाले) का शान्ता चौधरीले उम्मेदवारी दर्ता गराउनुभएको छ । प्रतिनिधिसभा निर्वाचनका लागि एमालेबाट टिकट पाउन नसकेपछि एमालेका नेत्री गङ्गा चौधरीले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले दाङ क्षेत्र नं २ बाट मनोनयन दर्ता गराउनुभएको छ । पोखरेलले घोराहीमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर दिउँसो साढे चारबजे उम्मेदवारी दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहनुभएका पोखरेलले विकास र समृद्धिका लागि आफूले उम्मेदवारी दर्ता गराएको बताउनुभयो । पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै उहाँले लोकतान्त्रिक गणतन्त्रलाई स्थापित गर्ने र बलियो राजनीतिक शक्ति निर्माण गर्ने अभियानअन्तर्गत आफूले उम्मेदवारी दिएको बताउनुभयो ।
सो निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का रेखा शर्माले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्