२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


रुसले युक्रेनका मुख्य शहरहरुमा गरेकाे आक्रमणकाे विश्वभर चौतर्फी बिरोध


624
Shares

काठमाडौं । रुसले युक्रेनको राजधानी कीभमा गरेको मिसाइल आक्रमणको विश्वभर निन्दा भएको छ ।

अमेरिकाले यो घटनालाई क्रुर हमलाको संज्ञा दिंदै रुसको रबैयाको तीब्र विरोध गरेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले युक्रेनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको कारबाही ‘पूर्ण रूपमा अस्वीकार्य’ भएको बताउनुभएकाे छ । उहाँले रुसले यसको नराम्रो परिणाम भोग्ने चेतावनी समेत दिनुभएको छ । युक्रेनमा रुसको आक्रमणले ‘गम्भीर नैतिक मुद्दा’ प्रस्तुत गरेको उहाँले बताउनुभयाे। विदेशमन्त्री ब्लिन्केनले पुटिनका कार्यहरूप्रति विश्व जगतको ध्यान केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।

त्यस्तै संयुक्त राष्ट्रका महासचिव एन्टिनियो गुटेरेसले साेही घटनाले आफूलाई गहिरो चोट पुगेको प्रतिक्रिया दिनुभएको छ । रुसले युक्रेनका विभिन्न शहरमा मिसाइल आक्रमण गर्दा दर्जन बढीको ज्यान गएको छ भने दर्जनौं घाइते भएका छन् । रुस युक्रेन युद्ध सुरु भएयता पहिलो पटक युक्रेनको राजधानी कीभको मध्यभागमा लामो दूरीका क्षेप्यास्त्रबाट आक्रमण गरिएको हो । रुसले युक्रेनका लवीव, तर्नोपिल, इभानो–फ्रान्किभस्क, नीप्रो, खार्किभ, कोनोटोप, ओडेसा र क्रेमेनचुग जस्ता शहरहरूमा पनि शक्तिशाली विस्फोट गराएको छ ।

रुसलाई क्राइमियासँग जोड्ने पुलमा युक्रेनी आक्रमणकारीले विष्फोट गराई क्षति पुर्याएपछि रुसले त्यसको बदला लिइरहेको छ । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले क्राइमिया पुलमा आक्रमणका लागि युक्रेनी गुप्तचरलाई जिम्मेवार ठहर्याउँदै त्यसको बदला लिने बताए लगत्तै आक्रमण सुरु भएको हो ।