
एजेन्सी । दिल्ली महिला आयोगकी प्रमुख स्वाती मालीवालले फिल्म निर्माता साजिद खानलाई रियालिटी शो ‘बिग बोस’ १६ बाट हटाउन केन्द्रीय सूचना तथा प्रसारण मन्त्री अनुराग ठाकुरलाई पत्र लेखेकी छन् ।
बिग बोस १६ मा निर्देशक साजिद खानको प्रवेशलाई लिएर विवाद सुरू भएको छ ।सामाजिक सञ्जालमा धेरैले मी टू आरोपित साजिद खानलाई शोबाट बाहिर निकाल्नुपर्ने माग गरिरहेका छन् ।
बिग बोसमा साजिदको प्रवेशलाई लिएर बलिउडलगायत धेरै टिभी अभिनेत्रीहरूले आपत्ति जनाएका छन् । अब यस विषयमा दिल्ली महिला आयोगकी अध्यक्ष स्वाती मालीवालको प्रतिक्रिया आएको हो ।
शोमा साजिदको प्रवेशको विरोध गर्दै उनले सूचना प्रसारण मन्त्री अनुराग ठाकुरलाई पत्र लेख्दै साजिद खानलाई शोबाट हटाउन माग गरेकी हुन् ।
ट्विटरमा पोष्ट गर्दै स्वातीले लेखेकी छन् ,‘मी टू अभियानका क्रममा साजिद खानमाथि १० जना महिलाले यौन दुर्व्यवहारको आरोप लगाएका थिए । यो सबै गुनासो साजिदको घृणित मानसिकताको बारेमा बताउँछन्। त्यस्ता व्यक्तिलाई बिग बोसमा स्थान दिइएको छ, जुन पूर्णतया गलत हो । साजिद खानलाई शोबाट हटाउनको लागि मैले अनुराग ठाकुरलाई पत्र लेखेको छु।’ यो ट्विटसँगै स्वातीले मन्त्रीलाई लेखेको पत्रको प्रतिलिपि पनि सेयर गरेकी छन् ।
वास्तवमा सन् २०१८ मा साजिदमाथि मी टू अभियान अन्तर्गत १० जना महिलाले यौन दुर्व्यवहारको आरोप लगाएका थिए । जसका कारण इन्डियन फिल्म एण्ड टेलिभिजन एसोसिएसनले साजिदलाई एक वर्षको प्रतिबन्ध लगाएको थियो । यस्तो अवस्थामा लामो समयपछि साजिद फेरि बिग बोसबाट फर्किएका छन् । बिग बोसमा उनको प्रवेश हुनेबित्तिकै विवाद सुरू भए पनि साजिद शोमा आउनुमा धेरै चलचित्रकर्मीहरूले आपत्ति जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्