१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अमिताभको जन्मदिनमा सरोज खनालले सम्झिए – ३ घण्टा कुरेर हात मिलाएको क्षण


1.04k
Shares

काठमाडौं । भारतीय अभिनेता अमिताभ बच्चनको ८० औं जन्मदिनमा अभिनेता सरोज खनालले शुभकामना दिदैं ३ घण्टा कुरेर हात मिलाएको क्षण सम्झिएका छन् ।

फिल्म ‘सात हिन्दुस्तानी’बाट आफ्नो करिअरको सुरुवात गरेका उनी जीवनको ८औं दशकमा पनि अभिनयमा उतिक्कै सक्रिय छन् । उनको पछिल्लो फिल्म ‘गुडबाइ’ हो । जुन प्रर्दशन भइरहेको छ । उनलाई बलिउडमा ‘महानायक’ उपाधिले सम्बोधन गर्ने गरिन्छ ।

अमिताभलाई जन्मदिनमा बलिउडसँगै नेपालका कलाकारहरूले पनि सामाजिक सञ्जालबाट शुभकामना दिएका छन् । यस्तै, अभिनेता सरोज खनालले उनलाई सामाजिक सञ्जाल फेसबुकमार्फत् जन्मदिनको शुभकामना दिँदै उनलाई भेट्दाको क्षण सम्झिएका छन् ।

फिल्म ‘महान्’ छायांकनको क्रममा काठमाडौं आएका अमिताभ बसेको होटलमा जबर्जस्ती छिरेर आफूले ३ घण्टा प्रतीक्षा गरेर उनीसँग हात मिलाएको दिनदेखि आफूमा पनि अभिनय गर्ने भूत सवार भएको सारोजले फेसबुकमा लेखेका छन् ।

सरोजले यसरी फेसबुकमा लामो स्टाटस राख्दै पुरानो दिन सम्झिएका छन् । :

म एसएलसीको पहिलो दिनको परीक्षा दिएर बानेश्वरबाट फर्कंदै थिए । क्षेत्रपाटीमा तपाईंको ‘बेमिसाल’ भन्ने फिल्म भिडियोमा देखाइँदै थियो भोलिपल्ट म्याथको परीक्षा थियो ।म गणितमा राम्रै थिएँ । मन मानेन । भोलिपल्टको परीक्षा बिर्सेर खाजा खान दाइले दिनुभएको २ रुपैयाँ ५० पैसा तिरेर हेर्न बसें । डेरामा आएर दाजुको पिटाइ खाएँ, किनकि दाजु पनि त्यही फिल्म हेर्न बस्नुभएको रहेछ । अस्कल कलेजमा साइन्स पढ्दै थिएँ, तपाईं ‘महान्’ भन्ने फिल्मको सुटिङ गर्न मल्ल होटलमा आउँदै हुनुहुन्छ भन्ने सुनेर प्राक्टिकल क्लास छोडेर तपाईंलाई भेट्न जबर्जस्ती होटलमा छिरें । करिब तीन घण्टाको पर्खाइपछि तपाइ आउनुभयो। सौभाग्यवश त्यसदिन तपाईंसँग हात मिलाउने मौका मिल्यो । सायद त्यही बेलादेखि ममा पनि अभिनय गर्ने भूत सवार भएको थियो ।