१६ चैत्र २०८१, शनिबार | Sat Mar 29 2025


अब राजनीति सुध्रिनु पर्छ


585
Shares

देश औपचारिक रुपमा मंसिर ४ को संघीय संसद् र प्रदेशसभा निर्वाचनमा होमिइसकेको छ । उम्मेदवारले मनोनयन पनि दर्ता गरिसकेका छन् । निर्वाचन आयोग पनि तीव्र गतिमा आफ्नो काममा व्यस्त छ । उसलाई निर्वाचन सम्पन्न गर्नुपर्ने काँधमा जिम्मेवारी छ । मुलुक निर्वाचनमय भइरहँदा कस्तो नेतृत्व चयन गर्ने भन्ने जिम्मा नेपाली जनताको हातमा पुगेको छ ।

कतिपयले यस पटकको निर्वाचनको परिणाम आश्चर्यजनक ढंगले आउने बताउने गरेका छन् । तर मुख्य प्रतिस्पर्धा भने देशका प्रमुख दलहरु नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका उम्मेदवारबीच हुने देखिन्छ । ठूला भनिएका राजनीतिक दलहरुले जुन रुपमा उम्मेदवार खडा गरेका छन् त्यसले केही निरास भने बनाएको छ । वस्तुस्थिति नबुझी आफ्ना आसेपासे, परिवारका सदस्य, नातागोता, विभिन्न अभियोग लागेका र चाकडी गर्नेलाई टिकट दिँदा संभावना बोकेका व्यक्तिहरु भने पछाडि धकेलिएका छन् ।

राजनीतिक दलहरुले समयको गति नबुझ्दा उनीहरुकै कारण नेपालको राजनीति अहिले बद्नाम छ । विगतमा विभिन्न राजनीतिक दलका नेताहरुले देशमा प्रजातन्त्र र लोकतन्त्र ल्याउन जेलनेल भोगेकै हुन्, उनीहरुलाई जनताले साथ पनि दिए । तर जनताको ईच्छा आकांक्षाको बेवास्ता गर्दै राजनीतिक दलका नेताहरु परिवारवादमा हावी भएका छन् । जुन उद्देश्यका लागि जनता प्रजातन्त्र र लोकतन्त्र ल्याउन आफ्नो ज्यानको बाजी थापेर लागेका थिए, त्यस अनुरुप जनताको पक्षमा काम भएको छैन। जनता दलका कामहरुप्रति खुसी देखिएका छैनन् ।

नेताहरुको समय आसेपासे, दलाल र बिचौलियाकै भरमा बित्ने गरेको छ । आज कैयन युवा आफ्नो देश छोडेर विदेशमा रगत र पसिना बगाउन बाध्य छन् । देशमा रोजगारी छैन् । रोजगारी सिर्जनाका लागि नयाँ उद्योग धन्दा खुल्न पनि सकेका छैनन् । सरकारले त खोलेको छैन नै, कसैले खोल्न खोजे त्यसको प्रक्रिया नै झन्झटिलो छ । गाउँका खेतबारी बाँझै छन् । गाउँ रित्तो बनाएर युवाहरु विदेशिएका छन् । युवा र शिक्षित व्यक्तिलाई स्वदेशमै रोक्न सकिएको छैन ।

कुनै समय हाम्रो देशभन्दा पछाडि रहेका देशहरु अहिले विकासमा धेरै अघि बढेका छन् । हाम्रो भने अवस्था उस्तै छ । राजनीति विकृत बनेको छ । सिद्धान्त, आदर्श, विवेक र मूल्यमान्यताको राजनीतिको खडेरी छ अहिले । निर्वाचन महंगो भएको छ । पैसा हुनेले मात्रै टिकट पाउने र खेलोफड्को गर्ने मौका पाउन थालेका छन् । लामो समय राजनीतिक दलमा योगदान गर्नेहरु पछि पर्न थालेका छन् । स्वार्थकेन्द्रित राजनीति गर्नेहरु नेपाली राजनीतिमा हावी हुन थालेका छन् । राजनीतिक दलहरुले जनभावना नबुझेकै कारण अहिले केही व्यक्तिहरु स्वतन्त्र भनेर पनि कुर्लिएका छन् । तर न राजनीतिक आदर्श, न सिद्धान्त, त्यसले केही समय चर्चा त पाउला, तर राजनीति राज्य र सरकार भनेको सामूहिक नेतृत्वबाट हुने हो । कुनै एक व्यक्तिबाट हुने कुरा होइन । देशमा वर्तमान राजनीतिप्रति वितृष्णा चाहिँ छ । त्यो वितृष्णालाई हटाउन अब राजनीतिक दलहरु लाग्नै पर्छ । किनकी धेरै मुलुकहरु विकासमा कहाँ बाट कहाँ पुगिसके हामी भने पहिलेकै अवस्थामा छौँ । आसेपासे, विचौलिया, दलाल, अवसरवादी र परिवार मोटाउने होइन जनता मोटाउने काम राजनीतिक नेतृत्वले गर्नै पर्छ । पुरातन सोच राख्ने नेताहरुप्रति युवा नेताहरुले औंला ठड्याएर बहस र छलफल गर्न सक्नु पर्छ । अनि समयको गतिलाई बुझाउन पनि युवा नेताहरु लाग्नु पर्छ । मुलुकलाई हरेक कुरामा आत्मनिर्भर बनाउन अब लाग्नै पर्छ । अझै पनि नेपालको राजनीतिक र आर्थिक स्थिति मजबुद हुन सकेको छैन । राजनीतिक अस्थिरताले देश सधै पछि परिरहेको छ । देश विकासमा दलहरुले एउटै दृष्टिकोण बनाउन सक्नु पर्छ । चुनाव जित्ने अनि आफ्ना मतदाता समक्ष अनुहार नदेखाउँने, देखाउँनै पर्दा पनि अर्काे पटक टिकट पाएपछि देखाउँनेलाई पनि जनताले अब विचार गरेर मत दिनुपर्छ । विभिन्न राजनीतिक दलमा आबद्ध युवा नेताहरुले वृद्ध नेताहरुलाई समय र परिस्थितिबारे बुझाएर नेतृत्व लिने हिम्मत गर्न सक्नु पर्छ । आवधिक निर्वाचनले प्रजातन्त्र र लोकतन्त्रको जग बलियो बनाउँछ ।