१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


कलाकार सबैको साझा भएकाले निर्वाचन प्रचारमा आशा नगर्न हरिवंश आचार्यको आग्रह


494
Shares

काठमाडौं । आगामी मंसिर ४ गते हुने लागेको प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेसँगै विभिन्न पार्टीका उम्मेदवारहरू प्रचारप्रसारको क्रममा जुटेका छन् ।

निर्वाचनको बेला भोट र भीड बटुल्न कलाकारलाई प्रयोग गर्ने चलन रहेकाे छ । साेही सन्दर्भमा वरिष्ठ कलाकार, हास्यकलाकार हरिवंश आचार्यले सामाजिक सञ्जालमा स्टाटस लेख्दै प्रचारप्रसार लागि कुनै पनि कलाकारबाट भोट माग्न आशा नगर्न राजनीतिक दलका उम्मेदवारलाई आग्रह गरेका छन् । नाता र आत्मिय सम्बन्ध गाँसिएका व्यक्तिहरु उम्मेदवार बनेपछि कलाकारबाट प्रचारमा हिंडेर भोट माग्न सहयोग गरिदिने आशा राख्नु स्वभाविक भएपनि सबै उम्मेदवारहरु साझा भएकाले प्रचारको आशा नगर्न समेत आचार्यले आग्रह गरेका छन् ।

आचार्यले मंगलबार आफ्नो फेसबुक पेजमा यस्ताे लेखेका छन्, ‘कतिले बिर्सनै नसकिने गुन लगाएका हुन्छन् । कतिसँग गहिरो मित्रता हुन्छ । कतिसँग नाता गांसिएको हुन्छ। देशमा जब निर्वाचन आउँछ, त्यसबखत ती मित्रता, ती नाता र आत्मीय सम्बन्ध गाँसिएका व्यक्तिहरु उम्मेदवार बन्दछन् ।’

उम्मेदवारहरुलाई लक्षित गर्दै आचार्यले लेख्छन्, ‘ब्यालेट बक्समा खसाल्ने मतपत्रको कुन चिन्ह रोज्ने भन्ने कुरा स्वविवेक हो । तर कसैको पक्षमा भोट माग्न, कसैको प्रचारक हुन सकिंदैन यो हाम्रो बाध्यता हो । त्यसैले मित्रता, आत्मियता र नातालाई पवित्र नै राखेर चुनावमा हामीबाट प्रचारप्ररसारको आशा नगरिदिन अनुरोध गर्दछु ।’ उनको यो स्टाटसमा धेरैले सहमति जनाएका छन् ।

आचार्यले स्थानीय तह, प्रतिनिधि र प्रदेशसभा सबै निर्वाचनमा मत हाल्दै आएका छन् । तर आचार्य अहिलेसम्म कुनै पार्टीमा आबद्ध भएका छैनन् । उनले कुनै उम्मेदवारका लागि खुलेर मत पनि मागेका छैनन् । यतिबेला आचार्य आफू अभिनित फिल्म ‘महापुरुष’को प्रचारमा व्यस्त भएका छन् । सर्लाही रैथाने प्रदीप भट्टराई निर्देशित साेही फिल्म आगामी कात्तिक ११ गतेबाट प्रदर्शनमा आने तयारीमा रहेकाे छ ।