१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन : स्वतन्त्रलाई चुनाव चिन्ह प्रदान


273
Shares

काठमाडाैँ । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा चुनावमा भाग लिने उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरेको छ । आयोगका अनुसार राजनीतिक दलबाट उम्मेदवारी दिएका उम्मेदवारको चुनाव चिन्ह सोही दलको हुनेछ ।

स्वतन्त्र उम्मेदवारी दर्ता गरेका उम्मेदवारलाई आयोगले चुनाव चिन्ह प्रदान गरेको हो । नेकपा एमाले त्यागेर रुपन्देही–१ मा स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भूसाललाई चुनाव चिह्न त्रिभुज दिएको आयोगले जनाएको छ । भूसालले त्रिभुजको तीन कुनालाई लोकतन्त्र, सामाजिक न्याय र विकास भनी व्याख्या गर्नुभएको छ ।

यस्तै, चितवन–३ बाट स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका केन्दीय सदस्य दिनेश कोइरालाले माछा चुनाव चिह्न पाउनुभएको छ । सत्तारुढ गठबन्धनको भागवण्डामा चितवन–३ नेकपा माओवादी केन्द्रको भागमा परेपछि कांग्रेस केन्द्रीय सदस्य कोइरालाले स्वतन्त्र उम्मेदवारी दिनुभएको हो ।

नेकपा एमालेले कोइरालालाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको छ । यसै क्षेत्रबाट कांग्रेसका नेता जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । उहाँलाई सूर्यमुखी फूल चुनाव चिह्न प्रदान गरिएको छ । त्यस्तै चितवन–१ बाट स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता राजेन्द्र बुर्लाकोटीले पनि माछा चिह्न नै पाउनुभएको छ ।

रौतहट ३ बाट प्रतिनिधिसभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिनुभएका प्रभु साहको चुनाव चिह्न ह्याण्ड पाइप (हातेकल) कायम भएको छ । साहले नेकपा एमालेबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिनुभएको हो । एमालेबाटै विद्रोह गरी दाङ क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएकी गंगा चौधरीले चुनाव चिन्ह लौरो पाउनुभएको छ ।

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग चुनाव लड्न डडेल्धुरा पुगेका स्वतन्त्र उम्मेदवार सागर ढकाललाई आयोगले चुनाव चिन्ह ‘सिरिञ्ज’ दिएको छ । तनहुँ –१ को प्रतिनिधिसभाका सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले ‘कैंची’ चुनाव चिन्ह पाउनुभएको छ । यता, नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग झापा ५ बाट चुनाव लड्न लागेका युग पाठकले पुतली चुनाव चिह्न पाउनुभएको छ । स्वतन्त्र उम्मेदवार रञ्जु दर्शनाले सेलरोटी चुनाव चिन्ह पाउनुभएको छ ।