११ बैशाख २०८२, बिहिबार | Fri Apr 25 2025


चलचित्र ‘आदिपुरुष’ को विवाद बढ्दै, कलाकारविरुद्ध मुद्दा दर्ता


494
Shares

एजेन्सी । दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’ को विवाद बढ्दो क्रममा छ ।

यसैबीच कलाकारविरुद्ध मुद्दा दर्ता भएको छ ।चलचित्रको टिजर सार्वजनिक भएदेखि नै कलाकारहरुको आवरणलाई लिएर विवाद सुरु भएको हो । यो फिल्म रामायणको कथामा आधारित भएकाले कलाकारहरुले रामायणका वास्तविक पात्रहरुको भन्दा फरक अवतार प्रस्तुत गरेकाले चलचित्रका कलाकारहरूको लुकसँग दर्शकहरू सहमत छैनन् । जसका कारण भारतीय दर्शकहरु चलचित्र बहिष्कार गर्न माग गरिरहेका छन्।

त्यसकारण कलाकारहरु बिरुद्ध हिन्दू संघ संगठनले मुद्धा दर्ता गरेका हुन् । चलचित्रका कलाकार सैफ अली खान, प्रभास र कृति सेननविरुद्ध मुद्दा दर्ता भएको छ । साथै कलाकारसँगै निर्देशक ओम राउत र लेखक मनोज मुन्तासिरविरुद्ध पनि मुद्दा दर्ता भएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार चलचित्रको चर्को विरोध भइरहेको छ भने कयौं ठाउँमा चलचित्रकर्मीको पुत्ला पनि जलाइएको छ । यससँगै बिहारको मुजफ्फरपुर जिल्लामा उपभोक्ता आयोगमा उजुरी परेको छ। यसमा फिल्मका निर्देशक, लेखक र कलाकारका साथै निर्माण कम्पनीविरुद्ध मुद्दा दर्ता गरिएको छ । यो मुद्दाको अक्टोबर १३ अर्थात बिहीबार सुनुवाई हुदैछ ।

यस चलचित्रमा रावणको भूमिकामा देखिएका सैफ अली खानको लुक्सलाई लिएर यसमा विवाद उत्पन्न भएको हो । रावणको अवतारमा खानलाई निकै फरक देखिएको छ । टिजरमा रावणको अवतारमा खानको कपाल छोटो छ, वास्तविक रामायणका रावण भन्दा उनको लुक फरक छ ।उनले कालो रंगको पोशाक लगाएका छन् । त्यसैगरी पुष्पक विमानको सट्टा उनलाई चमेरो जस्तो प्राणीमा उडिरहेको देखाइएको छ । रावणको रुपमा खानको निधारमा न तिलक छ न त्रिपुण्ड छ । उनको यही अवतारलाई लिएर विवाद सुरु भएको हो ।

रामायणको कथामा आधारित उक्त चलचित्रमा प्रभास राम, कृति सेनन सीता, सनी सिंह लक्ष्मण र सैफ अली खान रावणको भूमिकामा छन् । १२ जनवरी, २०२३ मा चलचित्र प्रर्दशन गर्ने निर्माण टिमको तयारी रहेको छ ।