
काठमाडाैं । बाँकेको बैजनाथ गाउँपालिकामा रहेको श्री लक्ष्मी प्राथमिक विद्यालयको भौतिक पूर्वाधारहरुको अवस्था दयनीय बनेको छ ।
बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ८ गुरदयालपुरको श्री लक्ष्मी प्राथमिक विद्यालयको अवस्था पनि डरलाग्दो भएकाे छ। भौतिक संरचनाहरु जीर्ण अवस्थामा छन् । २०४० सालमा स्थापना भएको विद्यालयलाई राम्रोसँग संरक्षण गर्न नसकेपछि विद्यालयको भौतिक अवस्था हेर्न लायकको छैन् । बाँके र बर्दियाको मानखोलाको छेउमा रहेको यो विद्यालयको सुरुवाती चरणमा भौतिक संरचना राम्रो हुँदा विद्यार्थी संख्या उल्लेख्य भएपनि पछिल्लो समयमा निजी विद्यालयका कारण विद्यार्थीहरु वर्षेनी घटिरहेका छन् ।
विद्यार्थीहरु भत्किएका भौतिक संरचनामा नै डराएर अध्ययन गर्न बाध्य अवस्था रहेको स्थानीयहरुको गुनासो छ । अहिले विद्यालयको भौतिक संरक्षण र सुधार हुन नसक्दा विद्यार्थीहरु नै बाध्य भएर निजी विद्यालय रोज्ने गरेको सञ्चालकहरु नै बताउँछन् । गुणस्तरीय शिक्षा र सेवा सुविधाको खोज्दै अभिभावकहरु निजी विद्यालय रोज्न थालेपछि विद्यालयको भौतिक संरचना जीर्ण बन्दै गएको बताइएको छ ।
विद्यालय सुधारका लागि हालसम्म कुनै निकायले चासो नदेखाएको प्रध्यानध्यापक सुरेशकुमार थारुले बताउनुभयो । उहाँका अनुसार विद्यालयमा ५ कक्षासम्म पढाई भएपनि भौतिक संरचना जीर्ण हुँदा र सामुदायिक विद्यालयमा सरकारले चासो नदिँदा जम्मा ४६ विद्यार्थी रहेको बताउनुभयो । स्थानीय सरकारसँग बारम्बार पहल गर्दासमेत विद्यालयको भौतिक प्रगति गर्न नसकेको उहाँको भनाइ छ ।
विद्यालय विकास समितिका सदस्य राधेश्याम थारुले विद्यालय विकास समितिले विद्यालयको मर्मत सम्भारका लागि वडाबाट अहिलेसम्म १ लाख रुपैयाँ मात्र उपलब्ध भएको बताउनुभयो । यसअघिको विकास समितिले केही नगरेपनि पछिल्लो विद्यालय विकास समितिले निरन्तर विद्यालयको रेखदेखका लागि आवश्यक पहल थालेको उहाँले बताउनुभयो ।
भत्किंएको भवनमा पानी चुहिने र हावाहुरी चल्दा टिनको छानोहरु नै उडाउने जस्ता समस्या रहेको विद्यार्थीहरु बताउँछन् । विद्यालयको पूर्वाधार जीर्ण भएको छ । गुणस्तरीय शिक्षा सुधार्न कतैबाट सहयोग नमिलेको स्थानीयको भनाइ छ । विद्यालयमा अहिले भौतिक पूर्वाधारको अभाव देखिएकाले गतिविधि पनि शून्य जस्तै रहेकाे छ ।
प्रतिक्रिया दिनुहोस्