
काठमाडाैं । शताब्दी पुरुष, संस्कृतिविद् सत्यमोहन जोशीको निधन भएको छ ।
आइतबार बिहान ७ बजेर ९ मिनेटमा उहाँको उपचारको क्रममा ललितपुरस्थित किष्ट अस्पतालमा १ सय ३ वर्षको उमेरमा निधन भएको हो ।
जोशी विगत लामो समयदेखि प्रोटेस्ट तथा मुटुको समस्याबाट पीडित हुनुहुन्थ्यो भने उहाँलाई पछिल्लो समय डेंगु संक्रमण समेत भएकाे थियो । डेंगु संक्रमणपछि उहाँलाई यही असोज २३ गते छातिमा निमोनियाको संक्रमण साथै मुटुको चाल सम्बन्धी समस्या देखिएको थियो ।
त्यस्तै अक्सिजन कमी भएर उहाँलाई सघन उपचार कक्षमा राखेर गरेर उपचार भइरहेको थियो । जोशीको पार्थिव शरीरलाई अध्ययनका लागि राखिनेछ । साथै उहाँकाे पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि पनि राखिनेछ ।
श्रद्धाञ्जली दिनका लागि ९ः४५ बजेदेखि १०ः४५ बजेसम्म उहाँको पार्थिव शरीरलाई अस्पतालको शैय्यामा नै राखिने र १०ः४५ बाट ११ः३० सम्म परिवारकोतर्फबाट हिन्दुसंस्कार अनुसार गर्नुपर्ने काम हुने तालिका रहेको ललतिपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले बताउनुभयो ।
उहाँले १०ः४५ देखि ११ः३० सम्ममा अस्पतालमा नै अन्तिम बिदाईका लागि राखिने, ११ः३० देखि १२ बजेसम्म अस्पतालको प्राङ्गणमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने तालिका रहेको छ । त्यस्तै १२ बजेदेखि १२ः३० बजेसम्म पालिका अस्पतालबाट ललितपुर महानगरपालिकामा ल्याउने र १२ः३० देखि अपराह्न ४ बजेसम्म महानगरपालिकाको प्राङ्गणमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने भएकाे छ ।
त्यस्तै ४ बजेदेखि ४ः३० बजेसम्म पुनः किष्ट अस्पतालमा लगेर आफ्नो शरीर मृत्यु पर्यान्त मेडिकल साइन्सका विद्यार्थीहरुलाई अध्ययनका लागि हस्तान्तरण गरिने प्रण अनुसार किष्ट मेडिकल कलेजलाई हस्तान्तरण गर्ने कार्यतालिका रहेको मेयर महर्जनले बताउनुभयो ।
उहाँको अन्तिम श्रद्धाञ्जलीका लागि प्रधानमन्त्री शेरबहादुर देउवालगायत विशिष्ट व्यक्तिहरु जाने कार्यक्रम रहेकाे छ ।
प्रतिक्रिया दिनुहोस्