१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


तिहार नजिकिएसँगै कुचोको माग बढ्यो


793
Shares

काठमाडौं । तिहार नजिकिएसँगै कुचोको माग र व्यापार बढेको छ । लक्ष्मीपूजाको दिन नयाँ कुचोको पूजा हुने र भाईटीकाको दिन पनि कुचोमा राखेर ओखर फुटाउने प्रचलनका कारण तिहारमा कुचोको माग बढेको हो ।

कुचोको माग बढेसँगै व्यवसायीहरुलाई कुचो बनाउन भ्याइनभ्याइ समेत भएको छ । नेपालमा मात्रै नभइ भारतमा पनि कुचोको माग बढेको काठमाडौंको सुकेधारास्थित गोरखनाथ कुचो सप्लायर्सका सञ्चालक रामप्रसाद बलाखेले बताउनुभयो ।

६ वर्ष देखि कुचो व्यापार सुरू गर्नु भएका उहाँले आफूले उत्पादन गरेका कुचोहरु नेपालमा भन्दा धेरै भारतमा पठाउने गरेको बताउनुभयो ।

यस वर्ष भने देशकै आर्थिक अवस्था कमजोर भएकाले नेपालमा कुचोको माग धेरै नरहेको उहाँले बताउनुभयो । उहाँले देशको आर्थिक मन्दीका कारण यस वर्ष गत वर्षको तुलनामा आधा पनि व्यापार नहुने अवस्था रहेको बताउनुभयो ।

त्यस्तै, गोरखनाथ कुचो सप्लायर्सका बजार व्यवस्थापक सुदीप श्रेष्ठले भने तिहार लागेसँगै बजारमा कुचोको माग अत्याधिक बढेको बताउनुभयो । उहाँले नेपाली बजारमा तिहारका लागि काठमाडौं उपत्यका बाहेकका अन्य जिल्लाहरुबाट पनि माग आएको र गत सालको भन्दा धेरै माग बढेको बताउनुभयो ।

उहाँले अहिले तिहारको सिजनमा हरेक दिन १० हजार कुचो बजारमा पठाइरहेको बताउनुभयो । उहाँका अनुसार बजारमा अहिले नर्मल कुचोको मूल्य ८० रुपैयाँदेखि २०० रुपैयाँसम्म पर्दछ ।

तिहार नजिकिएसँगै डोको, डालो र कुचोको पूजा गर्नका लागि यो समयमा कुचो खपत अरू समयभन्दा धेरै हुने गर्छ ।