१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सर्लाहीमा गठबन्धनमा चर्को असन्तुष्टि


351
Shares

सर्लाही । सर्लाहीमा नेकपा माओवादी केन्द्रका बागी उम्मेदवारले उम्मेदवारी फिर्ता नलिंदा पाँच दलीय गठबन्धनमा असन्तुष्टि चुलिएको छ ।

मंसिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवारी दर्तापछि यहि असोज २५ गते सदरमुकाम मलङ्गवामा बसेको गठबन्धन दलको बैठकले २६ गते दिउँसो १ बजेसम्म आ–आफ्नो दलका बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेको थियो ।

साेही आग्रह बमोजिम सर्लाही क्षेत्र नं. २ (क) मा नेपाली कांग्रेसका सियाराम रायले मात्रै उम्मेदवारी फिर्ता लिनुभएकाे छ । कांग्रेसबाट राय एक जना बागी उम्मेदवार हुनुभएकाे थियाे । माओवादीका ८ जना बागी उम्मेदवारले भने गठबन्धनको बैठक तथा पार्टीका नेताहरुले बारम्बार आग्रह गर्दा समेत उम्मेदवारी फिर्ता लिएका छैनन् ।

गठबन्धनभित्र रहेका अन्य दलका नेताले माओवादीका बागी उम्मेदवारकै कारण गठबन्धन नै टुट्न सक्ने अवस्था आएको बताउन थालेका छन् । नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंहले माओवादीले आफ्ना बागीलाई ‘ब्याक’ नगराए सर्लाहीमा गठबन्धन रहिरहन नसक्ने बताउनुभयो ।

सभापति सिंहले भन्नुभयो, ‘हाम्रो एक जना बागी हुनुहुन्थ्यो, उहाँले उम्मेदवारी फिर्ता लिइसक्नु भएको छ तर माओवादीका ८ जनामा आठै जनाले उम्मेदवारी फिर्ता लिनुभएको छैन्, यो अवस्थामा गठबन्धन अप्ठेरोमा परेको छ । माओवादीले बागी फिर्ता नलिए कांग्रेस गठबन्धनमा बसिरहन सक्दैन । यो विषय शीर्षस्थ नेताहरुलाई पनि भनिसकेका छौँ ।’

यता, माओवादी केन्द्र सर्लाहीका इन्चार्ज अच्यूतम काफ्लेले बागी उम्मेदवारले उम्मेदवारी फिर्ता लिन नमानेपछि कारबाहीका लागि केन्द्रलाई अनुरोध गरेका छौँ । काफ्लेले भन्नुभयो -‘जिल्ला कमिटीले आग्रह गर्दा कसैले पनि उम्मेदवारी फिर्ता लिनुभएन, त्यसपछि केन्द्रमा लेखेर पठाएका छौँ ।’

माओवादी जिल्ला इन्चार्ज काफ्लेले माओवादीका मात्रै बागी उम्मेदवार रहेकाले उनीहरुको उम्मेदवारी फिर्ता नभए गठबन्धनभित्र समस्या आउने कुरा आफूहरुले पनि पार्टीका शीर्षस्त नेताहरुलाई भनिसकेको बताउनुभयो ।

सर्लाहीमा पाँच दलीय गठबन्धनमा चार प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं. १ लोसपा, क्षेत्र नं. २ र ३ माओवादी केन्द्र र क्षेत्र नं. ४ कांग्रेसले लिएको छ । ८ वटा प्रदेशसभा निर्वाचन क्षेत्र पनि कांग्रेस, माओवादी, लोसपा र नेकपा (एकीकृत समाजवादी) पार्टीले बाँडफाँट गरेर लिएका छन् ।