
काठमाडाैँ । सत्तारुढ गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसले गत स्थानीय तहमा भन्दा सत्तागठबन्धन थप बलियो बनेको दाबी गरेको छ ।
कांग्रेसले गत स्थानीय तहमा पर्याप्त तयारी नहुँदा फरक विचारका भन्दै गठबन्धनमा आउनुपर्ने जति भोट आउन नसके पनि अहिले गठबन्धनको स्वीकार्यता बढेको दाबी गरेको हो ।
सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर पार्टी प्रवक्ता डा.प्रकाशशरण महतले गत स्थानीय तह निर्वाचनमा गठबन्धनबीच अधिकांश क्षेत्रमा समस्या देखिन आए पनि आसन्न निर्वाचनको लागि भने त्यो समस्या नरहेको र गठबन्धनको स्वीकार्यता बढेको जिकिर गर्नुभएको हो ।
प्रवक्ता महतले गठबन्धनका कारण थुप्रै योग्य पार्टीका नेताहरूलाई टिकट दिन नसकेको भन्दै धेरै सिटमा उम्मेदवार उठाउने भन्दा धेरै ठाउँमा जित्ने लक्ष्य राखेकोले व्यक्तिगत आकांक्षा पन्छाएर लाग्न आह्वान गर्नुभयो ।
अर्को प्रसंगमा प्रवक्ता महतले आसन्न निर्वाचनका लागि निर्वाचन आयोगले जारी गरेको आचारसंहिताका कतिपय बुँदाहरू यथार्थपरक र व्यावहारिक नभएको टिप्पणी गर्नुभयो ।
निर्वाचन आयोगले सोमबारमात्रै आचारसंहिताको व्यवस्थाअनुसार मतदानको १८ दिनभन्दा अगाडि घरदैलो गर्न नपाइने स्पष्ट पार्दै कसैले पनि आचारसंहिता उल्लंघन गरे उम्मेदवारी नै खारेज हुन सक्ने चेतावनी दिएको केही समयपछि कांग्रेस प्रवक्ताको यो टिप्पणी आएको हो ।
प्रतिक्रिया दिनुहोस्