
काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र संचालन भएका व्यापार तथा व्यवसाय दर्ता गरेर मात्र संचालन गर्न सूचना जारी गरेको छ ।
आज मंगलबार सार्वजनिक सूचना जारी गर्दै महानगरपालिकाले संघीय तथा प्रदेश सरकारबाट इजाजत लिएर सञ्चालन गरिएका ब्यापार तथा व्यवसायहरु समेतलाई ३० दिनभित्र महानगरपालिकामा दर्ता गर्न आग्रह गरेको हो ।
काठमाडौं महानगरपालिका क्षेत्रभित्र व्यापार व्यवसाय सञ्चालन गर्ने कतिपय व्यवसायीहरूले संघीय र प्रदेश सरकारबाट इजाजत लिएको तर महानगरपालिकामा व्यवसाय दर्ता नगरेको पाइएको भन्दै महानगरपालिकाले सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र सम्बन्धित वडा कार्यालयमा व्यवसाय दर्ता गर्न भनेको छ ।
साथै, आर्थिक वर्ष ०७२/०७३ लाई आधार मानेर व्यवसाय कर असुल गरिने पनि सूचनामा उल्लेख छ । अनुगमनका क्रममा दर्ता नगरी व्यवसाय गरेको पाइएमा व्यवसाय बन्द गरी जरिवाना तिराउने चेतावनी पनि दिएको छ ।

प्रतिक्रिया दिनुहोस्