
काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको म्याराथनमा गण्डकी प्रदेशका धावक अनिष थापामगरले स्वर्ण पदक जितेका छन् ।
आज (मंगलबार) बिहान भएको म्याराथनमा निर्धारित दूरी २ घण्टा २२ मिनेट ५४ सेकेन्डमा पूरा गर्दै थापामगरले स्वर्ण पदक जितेका हुन् । उनी भन्दा २० सेकेण्ड ढिला रेस सकाएका त्रिभुवन आर्मी क्लबका कृष्ण बस्नेतले रजत पदक जितेका छन् । २ घण्टा ३० मिनेट ५४ सेकेन्ड खर्चिएका सशस्त्र प्रहरी बल (एपीएफ) का सन्तोष विक्रम विष्टले कास्य पदक हात पारेका छन् । भारतीय सेनाका जवान थापामगरलाई नवौं राष्ट्रिय खेलकुदमा सहभागी गराउन गण्डकी प्रदेशले बिदामा नेपाल बोलाएको हो।
म्याराथनको महिलातर्फ एपीएफकी धाविका बिन्द्रा धन्के श्रेष्ठले स्वर्ण पदक जितेकी छन् । निर्धारित दूरी २ घण्टा ५७ मिनेट २३ सकेकेन्डमा पूरा गर्दै श्रेष्ठले एपीएफको खाताका अर्को स्वर्ण पदक थपेकी हुन् । महिला म्याराथनमा त्रिभुवन आर्मी क्लबकी विश्वरुपा बुढाले रजत पदक जित्दा नेपाल पुलिस क्लबकी रेखा विष्टले कास्य पदक जितेकी हुन् ।
एथलेटिक्सको ४ सय मिटर दौडमा मंगलबार २ नयाँ कीर्तिमान बनेका छन् । ४ सय मिटर दौडमा पुरुषतर्फ आर्मीका सोमबहादुर कुमालले ४७ दशमलव ९५ सेकेन्डको कीर्तिमानसँगै स्वर्ण पदक जितेका छन् । यो प्रतिस्पर्धामा एपीएफका आशिष चौधरी ४९ दमशलव ४० सेकेन्डको समयसहित दोस्रो हुँदा आर्मीका प्रकाश दनुवार तेस्रो भएका हुन्।
एथलेटिक्स ४ सय मिटर दौडमा महिलातर्फ एपीएफकी रमिताकुमारी थारूले ५८ दमशलव १० सेकेन्डको कीर्तिमानसहित स्वर्ण पदक हात पारेकी हुन् । आर्मीकी निर्मला थापा रजत तथा एपीएफकी कल्पना श्रेष्ठ कास्य पदक जित्न सफल भएका हुन् । महिला लङजम्पमा त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी छन् । यसअघि लुम्बिनी प्रदेशकी निशा चौधरीको नाममा रहेको ५ दशमलव ४७ मिटरको कीर्तिमान तोडेर जयरानीले ५ दशमलव ५८ मिटरको रेकर्ड कायम गरेकी छन् ।
महिला लङ्गजम्पमा निशा चौधरी दोस्रो हुँदो एपिएफकी शिला चौधरी तेस्रो भएकी हुन् । जयरानीको जारी नवौं राष्ट्रिय खेलकुदको एथलेटिक्समा यो तेस्रो स्वर्ण पदक हो । उनले यसअघि महिला १ सय मिटर र ४ सय मिटर हर्डल्समा पनि राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी थिइन् ।
पुरुष लङजम्पमा एपीएफका सलिम देवानले ७ दशमलव ०६ मिटरको नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक हात पारेका छन् । उनले कृष्णबहादुर श्रेष्ठको नाममा रहेको २३ वर्षअघिको कीर्तिमान तोडेका हुन् । पुरुष लङजम्पमा आर्मी क्लबका डिल्ली खत्री ६ दशमलव ९८ मिटरसहित दोस्रो हुँदा गण्डकी प्रदेशका नारायण चौधरी तेस्रो भएका हुन् ।
प्रतिक्रिया दिनुहोस्