५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


गठबन्धनका उम्मेदवारलाई भोट हाल्न कार्यकर्तालाई प्रधानमन्त्रीकाे निर्देशन


611
Shares

काठमाडाैं । प्रधानमन्त्री एवम् काँग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनका उम्मेदवारहरुलाई भोट हाल्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनु भएको छ ।

प्रधानमन्त्री देउवाले आफूले हसिँया हतौडामा भोट हालिसकेको र आगामी निर्वाचनमा पनि हाल्ने उल्लेख गर्दै काँग्रेसका नेता, कार्यकर्ताले पनि त्यसै गर्ने बताउनु भयो ।

मंगलबार ललितपुरमा आयोजित सत्तारुढ गठबन्धनको अगुवा कार्यकर्ता भेलामा बोल्दै उहाँले आगामी निर्वाचनमा सत्तारुढ गठबन्धनले अत्याधिक बहुमत ल्याउने गरी मतदान गर्न पनि आम मतदातालाई आग्रह गर्नु भयो ।

सत्तारुढ गठबन्धनले अत्याधिक बहुमत ल्याए मुलुकमा स्थायी शान्ति, स्थायी लोकतन्त्र र गणतन्त्रले पनि स्थायित्व पाउने उहाँको भनाइ थियो । प्रधानमन्त्री देउवाले गठबन्धन दलहरुबीच अविश्वासको वातावरण नरहेको भन्दै खुसी समेत व्यक्त गर्नु भयो ।

उहाँले भन्नु भयो, ‘अव हसिँया हतौडा, को रुख भन्ने नै छैन अव । कसलाई भन्ने नै छैन । त्यसकारण कलम भएको ठाउँमा कलमलाई नै भोट हाल्ने । हसिँया हतौडा भएको ठाउँमा हसिया हतौडालाई नै भोट हाल्ने । रुख भएको ठाउँमा रुखलाई नै भोट हाल्ने । पुगी हाल्यो नि । यति भए पुगी हाल्यो नि । यति भए पुगी हाल्यो नि । किन चाहियो अरु कुरा ? सबै दाजुभाई दिदीबहिनीहरुले यो गठबन्धनलाई प्रचुर मात्रामा बहुमत दिलाएर यो देशलाई अझ स्थायी रुपमा अगाडि बढाउनका लागि स्थायी शान्ति, स्थायी प्रजातन्त्र, स्थायी गणतन्त्रलाई अगाडि बढाउनका सहयोग गर्न हार्दिक अनुरोध गर्दछु ।’

प्रधानमन्त्री देउवाले सत्तारुढ दलका नेताहरुले सरकारलाई सहयोग गरेको भन्दै धन्यवाद समेत दिनु भयो । उहाँले संसद दुई पटक भंग गरेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान मिच्ने काम गरेको तर आफूहरुले त्यसलाई जोगाएको पनि बताउनु भयो ।

प्रधानमन्त्री देउवाले मुलुक विजुली बेचेर सम्पन्न बनाउने गरी भारतसँग विजुली खरिद सम्झांैता गर्न आफू नेतृत्वको गठबन्धन सरकार सफल भएको दावी समेत गर्नु भयो ।

प्रधानमन्त्री देउवाले नेपालको संविधान राम्रो भएको उल्लेख गर्दै सोही अनुसार अघि बढनुको विकल्प नरहेको पनि बताउनु भयो ।