
काठमाडौं । देशभरका बालबालिकालाई आज बुधबार र भोलि बिहीबार भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत ६ महिनादेखि ५ वर्षसम्मका करिब २७ लाख बालबालिकालाई भिटामिन ए र १ देखि ५ वर्षसम्मका २३ लाख ९३ हजार बढी बालबालिकाहरुलाई जुकाको औषधि खुवाउन लागेको हो ।
महाशाखाले आफूलाई पायक पर्ने खोप केन्द्रमा गएर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अभिभावकलाई आग्रह गरेको छ । आज खान छुटेकाहरुलाई भोलि बिहीबार खुवाउन सकिन्छ ।
सोही अवसरमा एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधिसमेत खुवाइने छ । सरकारले वि.सं. २०५० बाट भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । जुकाको औषधि वि.सं. २०५६ बाट खुवाउन थालिएको हो ।
वर्षमा दुई पटक पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने गरिन्छ ।
‘राष्ट्रिय भिटामिन ‘ए र जुकाको औषधि’ कार्यक्रम सञ्चालनका लागि २५ हजार स्वास्थ्यकर्मी र ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका परिचालित हुनेछन् ।
प्रतिक्रिया दिनुहोस्