
काठमाडौं । रामबाबु गुरुङद्वारा निर्देशित फिल्म ‘फूलबारी’ को रिलिज मिति सार्वजनिक भएको छ । फिल्मले फागुन ५ गते मंगलबारलाई रिलिज मिति घोषणा गरेको हो ।
फागुन ७ गते प्रजातन्त्र दिवस र ९ गते ग्याल्पो ल्होछारको सार्वजनिक बिदा परेकाले फागुन ५ गते शुक्रबारका लागि दुई फिल्म ‘परदेशी २’ र ‘लण्डन टू पेरिस’ले प्रदर्शन मिति घोषणा गरिसकेको अवस्थामा अब यो मितिमा अर्को मल्टीस्टारर फिल्म ‘फूलबारी’ पनि प्रदर्शन हुने तय भएको छ ।
यशोधा फिल्मस्को ब्यानरमा निर्मित फिल्मको कथा तथा कन्सेप्ट कमल किशोर मलपानीको हो भने पटकथा उपेन्द्र सुब्बाले लेखेका हुन् । फिल्ममा दयाहाङ राई, विपिन कार्की, प्रियंका कार्की, अरुणा कार्की, सृजना सुब्बा, शिल्पा मास्के, गौमाया गुरुङलगायतको अभिनय रहेको छ ।
कालिप्रसाद बाँस्कोटा र अनुपम शर्माको संयुक्त संगीत रहेको फिल्मलाई अमेरिकी छायाँकार जोस हेरमले छायाँकन गरेका हुन् । मनिष ढकाल निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा ‘कबड्डी’ श्रृंखलाका निर्माता मणिराम पोखरेल छन् ।
प्रतिक्रिया दिनुहोस्