
काठमाडौं । बेलायती प्रधानमन्त्री लिज ट्रस पदमा आएको दुई महिना नपुग्दै संकटमा पर्नुभएको छ ।
प्रधानमन्त्री बनेदेखि नै विवादमा पर्दै आउनु भएकी ट्रसको संकट गृहमन्त्री सुएला ब्रेवरम्यानले बुधबार अचानक राजीनामा दिएपछि झनै चुलिएको हो । गृहमन्त्री ब्रेवरम्यानले सरकार आफ्ना प्रतिवद्धताहरुबाट बहकिएको आरोप लगाउनु भएको छ ।
त्यसलगत्तै हाउस अफ कमन्समा बुधबार राति भएको फ्रयाकिङ अर्थात जैविक इन्धन उत्खनन सम्बन्धि मतदानका क्रममा पनि होहल्ला र अप्रिय अवस्था उत्पन्न भयो । विपक्षी सांसदहरुले सत्तापक्षीय सांसदहरुले मतदानका बेला हातपात गरेको आरोप पनि लगाएका छन् ।
संसदमा उत्पन्न असहज परिस्थितिपछि सत्ता पक्षीय सांसदहरुले नै खुला रुपमा प्रधानमन्त्री ट्रस अब पदमा बस्न लायक नभएको भन्दै राजीनामा मागेका छन् ।
गलत आर्थिक नीति लिएको भन्दै सुरूमै आलोचित बनेकी प्रधानमन्त्री ट्रसले अर्थमन्त्री क्वासी क्वार्टेङलाई हटाएर जेरेमी हन्टलाई अर्थमन्त्री नियुक्त गर्नुभएको थियो । तर अचानक गृहमन्त्रीको राजीनामा आएपछि सत्ता संकट चुलिएको हो ।
सत्तारुढ दलभित्रको अराजक अवस्था नयाँ प्रधानमन्त्री चयन नभई साम्य नहुने विश्लेषण गर्न थालिएको छ । विपक्षी लेबर पार्टीले भने ताजा जनादेशका लागि चुनाव माग गरेको छ ।
प्रतिक्रिया दिनुहोस्