९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


नरदेवी श्वेतकाली बाह्र वर्षे जात्रा


143
Shares

काठमाडौं । काठमाडौंको कुमारी घरसँगैको डबलीमा बाह्र वर्षे श्वेतकाली ‘ङतभुलु अजिमा’ तथा देवगणहरूको नाच प्रदर्शन गरिएको छ ।

यसअघि २०६६ सालमा यो नाच देखाइएको थियो । नरदेवीमा बाह्र वर्षे जात्रा प्रदर्शन गर्ने क्रममा काठमाडौंका विभिन्न टोल तथा नगर बाहिर पनि प्रदर्शन गर्ने गरिन्छ । जात्रा अघि क्षमा तथा कलश साधना पूजा गरिएको थियो । प्रत्येक वर्ष पाहाँ चःह्रेको दिन यो जात्रा नरदेवीमा प्रदर्शन गर्ने परम्परा छ ।

हरेक वर्ष ‘ङतभुलु अजिमा’को नाच प्रदर्शन हुँदा १२ जना देव देवतालाई सम्मिलित गराइन्छ । तर, १२ वर्षे जात्राका क्रममा भने १७ जना देवगणहरूलाई सम्मिलित गराइन्छ । लोक उद्धार गर्नका लागि च स्वांबाट नरदेवी प्रकट भएको किम्बदन्ती छ । च स्वांको अर्थ एक किसिमको विशेष फूल भन्ने हुन्छ । फूलबाट प्रकट भएर नरदेवीले समस्त मानव जीवनको उद्धार गर्नुभएको धार्मिक मान्यता छ ।

त्यस मध्ये श्वेतकाली राजा गुणकामदेवको पालामा स्थापना गरिएको हो । त्यसपछि विभिन्न देवगणहरूको मुकुट लगाएर नाच प्रदर्शन गर्ने चलन अमर मल्लको पालमा सुरू गरिएको बताइन्छ । जात्रालाई अझ व्यवस्थित गर्ने क्षेत्रमा रणबहादुर शाहले पनि भूमिका खेल्नुभएको अभिलेख छ ।