
बझाङ । बझाङमा बुधबार भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ । दुर्घटनामा गम्भीर घाइते भएकी मष्टा गाउँपालिका– २ की ५० वर्षीया सिन्कीदेवी भण्डारीको भने उपचारका लागि धनगढी लैजाँदै गर्दा मृत्यु भएसँगै मृतकको संख्या ८ पुगेको हो ।
बझाङको मष्टा गाउँपालिका स्थित चिउरीमा जीप दुर्घटना हुँदा ७ जनाको घटनास्थलमा नै मृत्यु भएको थियो । दुर्घटनामा मृत्यु हुनेमा मष्टा गाँउपालिका– २ का ८ वर्षीया सम्झना खड्का, एकै घरका दाजु भाई १५ वर्षीय रोशन खड्का र प्रचण्ड खड्का, ३८ वर्षीय विरेन्द्र अधिकारी, मष्टा गाउँपालिका– ३ की २६ वर्षीया बसन्ती धामी कठायत र उनकी ७ महिनाकी छोरी दक्षिका कठायत र शुक्लाफाटा नगरपालिका– ७ घर भएका ४२ वर्षीय झरेन्द्र बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
यस्तै, दुर्घटनामा घाइते भएका १५ जनामध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।
जिप दुर्घटनामा परेर एउटै वडाका आठ जनाको मृत्यु भएपछि मष्टा गाउँ नै शोकमा डुबेको छ ।
बुधबार जिल्ला सदरमुकाम चैनपुरबाट मष्टा–२ खेतकोट जाँदै गरेको सु प प्र ०१–००१ च ०११७ नम्बरको जिप दुर्घटना भएको हो । जिल्ला सदरमुकाम चैनपुरबाट मष्टा–२ खेतकोट जाँदै गरेकोे जीप सडकबाट २ सय मिटर तल खसेको थियो ।
प्रतिक्रिया दिनुहोस्