
पाेखरा । नवौं राष्ट्रिय खेलकुदको एथ्लेटिक्सतर्फ कुल ९ वटा राष्ट्रिय कीर्तिमान बनेका छन् । पोखरा रंगशालामा आज बिहान एथ्लेटिक्सका थप ७ वटा स्वर्ण पदकको छिनोफानो भएसँगै एथ्लेटिक्सका सम्पूर्ण खेलहरु सकिएका छन् ।
आज भएको पुरुष २०० मिटर दौडको स्वर्ण पदक सशस्त्र प्रहरीको एपीएफ टिमका शिवराज पार्कीले जिते । स्प्रिन्टमा दबदबा कायम गर्ने क्रममा शिवराजले २१ दशमलव ९१ सेकेन्डमा दूरी तय गरे । जारी प्रतियोगितामा शिवराजको यो तेस्रो स्वर्ण हो ।
यसअघि उनले १०० मिटर दौड र ४ गुणा १०० मिटर रिलेमा स्वर्ण पदक जितेका थिए । उनका निकट रहेका एपीएफकै आशिष चौधरीले २२ दशमलव ०५ सेकेन्डमा रेस सकाउँदै रजत पदक जित्दा आर्मीका युवराज बिकले कांस्य पदक हात पारे । महिला २०० मिटरको स्वर्ण पदक लुम्बिनी प्रदेशकी निशा चौधरीले जितिन् ।
उनले २५ दशमलव २४ सेकेन्डको समयसहित स्वर्ण जित्दा एपीएफकी रमिताकुमारी थारूले रजत तथा पुलिसकी लक्ष्मी साउदले कांस्य पदक हात पारे । ४ गुणा ४०० मिटर रिलेमा महिला र पुरुष दुवैको स्वर्ण आर्मीले जितेको छ । महिलातर्फ सरस्वती भट्टाई, जयरानी थारु, निर्मला थापा र कलेसी चौधरीको टिमले ४ मिनेट ०२ दशमलव ७८ सेकेन्डमा दूरी पूरा गर्दै आर्मीलाई स्वर्ण दिलाए ।
यो स्पर्धामा ५०० मिटरभन्दा अगाडि नै एपीएफका खेलाडीले ट्रयाक परिवर्तन गरेर दौडेकाले एपीएफ अयोग्य घोषित भएपछि दोस्रो स्थानमा रेस सकाएको आर्मीले स्वर्ण जितेको हो । लुम्बिनीका निशा थारु, सम्झना थारु, अरुणा रिजाल र रामकुमारी थारुको टिमले रजत पदक जित्दा बागमती प्रदेशले कास्य पदक हात पार्यो ।
४ गुणा ४०० मिटर रिलेमा पुरुषतर्फ आर्मीका सोमबहादुर कुमाल, रामप्रसाद थारु, जीवन चौधरी र प्रकाश दनुवारको टिमले ३ मिनेट १८ दमशलव ३६ सेकेन्डमा दौड पूरा गर्दै स्वर्ण जित्यो । एथ्लेटिक्सकै ५ हजार मिटर दौडमा गोपीचन्द्र पार्कीले स्वर्ण पदक रक्षा गरे ।
कर्णाली प्रदेशका दुर्गाबहादुर बुढा दोस्रो हुँदा आर्मीका मुकेश पाल तेस्रो भए । १४ मिनेट २९ दमशलव ६७ सेकेन्डमा रेस सकाएका गोपीले आठौं राष्ट्रियमा पनि स्वर्ण जितेका थिए । महिला ट्रिपलजम्पको स्वर्ण एपीएफकी शिला चौधरीले जितिन् । उनले ११ दशमलव ०१ मिटर जम्प गर्दै स्वर्ण जितेकी हुन् ।
आठौंमा पनि स्वर्ण जितेकी शिलाको लागि नवौं रष्ट्रियमा यो पहिलो स्वर्ण हो । पुलिसकी सीमा चौधरीले रजत पदक जितिन् । पुरुष ट्रिपल जम्पमा आर्मीका डिल्ली खत्रीले स्वर्ण जिते । उनले १३ दशमलव ५५ मिटर जम्प गर्दै स्वर्ण जित्दा पुलिसका चन्द्रदेव जोशी दोस्रो तथा वाग्मतीका सुदीप महतो तेस्रो भए ।
प्रतिक्रिया दिनुहोस्