
कपिलवस्तु । कपिलवस्तुमा सशस्त्र प्रहरी चढेको ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
शुक्रबार राति बाणगंगा नगरपालिका–३ सिउटीमा ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा ट्रक चालक तथा सशस्त्र प्रहरी जवान रमेश चौधरी र स्थानीयवासी अमर तङनामीको ज्यान गएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक दीपकबाबु केसीले जानकारी दिनुभयो ।
ट्रकले ठक्कर दिँदा सडकमा हिँडिरहेका स्थानीय सागर पाण्डे, राजु चौधरी र कुलबहादुर घर्ती गम्भीर घाइते भएका छन् । घाइतेको बुटवलमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।
ट्रकमा रहेका थप तीन जना सशस्त्र प्रहरी जवान गोविन्द सुवेदी, जनक चौधरी र प्रेम मल्ल घाइते भएका छन् । घाइते सशस्त्र प्रहरीलाई कपिलवस्तु सामुदायिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि बुटवल पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस्