
काठमाडाैं । प्रधानमन्त्री समेत रहनुभएका नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले प्रदेश १ मा सत्ता गठबन्धनका उम्मेदवारलाई जिताएर विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ दिन कार्यकर्तालाई अपिल गर्नुभएको छ।
सत्तारुढ गठबन्धनले शनिवार विराटनगरमा आयोजना गरेको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै सभापति देउवाले विपक्षी दलका अध्यक्ष ओलीलाई जवाफ दिन सत्तागठबन्धनमा आबद्ध दलका उम्मेदवारलाई जिताउन कार्यकर्तालाई अपिल गर्नुभएको हो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको चुनाव क्षेत्र प्रदेश १ को झापा जिल्लामा पर्छ ।
लोकतन्त्र र गणतन्त्रलाई स्थायीत्व दिन सत्तारुढ गठबन्धनले जित्न आवश्यक रहेको जिकिर गर्दै सभापति देउवाले सत्तागठबन्धनका उम्मेद्वारलाई जिताउनको लागि एक अर्का दलको चुनाव चिह्नमा मतदान गर्न अफ्ठ्यारो नमान्न पनि आग्रह गर्नुभयो ।
प्रधानमन्त्री समेत रहनुभएका देउवाले संविधान रक्षाका निम्ति बनेको पाँच दलीय गठबन्धन स्वभाविक भएको समेत दावी गर्नुभयो । विपक्षी दल नेकपा एमालेले सत्तागठबन्धनमाथि गरिरहेको प्रश्नप्रति लक्षित गर्दै सभापति देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन गर्न हुने अरुले नहुने भन्दै प्रश्न गर्नुभयो ।
सभापति देउवाले गठबन्धनले बहुमत ल्याए सबैका लागि अवसर सिर्जना हुने आश्वासन समेत दिनुभयो । आफुसंगै स्टेजमा रहनुभएका पार्टीका संस्थापन इतर पक्षका नेता डा.शेखर कोइरालालाई देखाउँदै सभापति देउवाले आफुहरु बसै मिलिसकेकाले स्थानीय तहमा मनमुटाव नगर्न समेत पार्टीका कार्यकर्तालाई आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्