
काठमाडौं । जनकपुरधामलगायत मिथिलाञ्चलमा छठको तयारी पूरा भएको छ । पर्वको पहिलो दिन शुक्रबार नहाय खाय विधिबाट छठको तयारी गर्न थालिएको हो ।
श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्वका लागि जनकपुरधामलगायत तराई–मधेसको विभिन्न स्थानमा अन्तिम तयारी पूरा भएको हो ।
जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख पोखरीका घाटलाई सिँगारेर पूजाको तयारीका लागि चिटीक्क पारिएको छ । जनकपुरधामका पोखरीमा छठ पूजाका लागि यहाँका स्थानीय युवा क्लबहरुले टेन्ट र पण्डाल लगाएको राम युवा समितिका अध्यक्ष परमेश्वर साहले जानकारी दिनुभयो ।
जनकपुरधामको गंगासागर पोखरीका अतिरिक्त धनुषसागर, अंगराज सर, दशरथ तलाउ, जानकी सरोवर, गोरधोइ, अग्निकुण्डलाई स्थानीय युवा क्लबले सजाएका छन् ।
जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष जीतेन्द्र महासेठले छठका अवसरमा जनकपुरधाममा सरसफाइ अभियान सुरु गरिएको बताउनुभयो ।
कात्तिक शुक्ल चतुर्थीको दिनदेखि सुरु हुने यो पर्व सप्तमी तिथिका दिन सम्पन्न हुन्छ ।
प्रतिक्रिया दिनुहोस्