१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


महोत्तरीमा सवारी दुर्घटना बढ्यो


52
Shares

काठमाडौं । महोत्तरीमा सवारी दुर्घटना बढ्दै गएको छ । ट्राफिक प्रहरीले महोत्तरीमा कारबाही बढाए पनि दुर्घटनामा भने न्यूनीकरण आउन सकेको छैन ।

साउन यता मात्र १६ जनाको मृत्यु भएको छ भने ३ दर्जनभन्दा बढी दुर्घटना भएका छन् ।

जिल्लाको पूर्व–पश्चिम राजमार्ग, सम्सी सडक खण्ड र औरही–जलेश्वर सडक खण्डमा दुर्घटना बढी हुने गरेको जिल्ला ट्राफिक कार्यालय महोत्तरीले जनाएको छ ।

असोज महिनामा मात्र १० जनाको मृत्यु भएको ट्राफिक कार्यालयले जनाएको छ । तीव्र गति, मदिरा सेवन जस्ता दुर्घटनाका मुख्य कारक रहेको ट्राफिक कार्यालयका प्रमुख उदय सिंह सिजापतिले बताउनुभयो ।

साउन महिनामा ३ जना र भाद्र महिनामा पनि तीन जनाको मृत्यु भएको छ भने घाइते हुनेको संख्यासमेत बढी रहेको छ ।

मृत्यु हुनेहरुमा दुई जना महिलाबाहेक अधिकांश पुरुष छन् । असोज महिनामा मात्र दुर्घटनामा परी दुई जना महिलाको मृत्यु भएको छ ।

दुर्घटना कै कारण २२ जना गम्भीर घाइतेसमेत भएका छन् । साउन महिनामा ७ जना, भदौ महिनामा ९ जना र असोज महिनामा ६ जना गम्भीर घाइते भएको कार्यालय प्रमुख सिजापतिको भनाइ छ ।

प्रहरीले ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनलाई कारबाही प्रक्रिया समेत तीव्र बनाएको छ । तर, दुर्घटना न्यूनीकरणमा भने खासै प्रभाव परेको देखिएको छैन ।