
काठमाडौं । भारतको उत्तराखण्डस्थित धार्चुलामा सडक खन्दा ढुंगा उछिट्टिएर दार्चुलाका १० वर्षीय बालक पवन महराको मृत्यु भएको घटनामा कूटनीतिक माध्यमबाट भारतसँग कुरा गर्न गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ ।
सडक खन्न विष्फोट गराउने क्रममा उछिट्टिएको ढुंगा लागेर नेपाली बालक महराको गत शुक्रबार मृत्यु भएको थियो ।
गृह मन्त्रालयले सडक खन्ने क्रममा आवश्यक सतर्कता अपनाउन र पीडित परिवारलाई राहत तथा क्षतिपूर्तिका लागि पहल गर्न भन्दै परराष्ट्रलाई पत्राचार गरेको हो ।
यसैबीच, सडक निर्माणको जिम्मा लिएको भारतीय कम्पनी गर्ग एण्ड गर्गले गल्ती स्वीकार्दै माफी माग्नुका साथै पीडित पक्षलाई राहत उपलब्ध गराएको छ ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले भारत पिथौरागढका जिल्ला अधिकारी आशिष चौहानलाई टेलिफोन गरी घटनाप्रति आपत्ति जनाएपछि शनिबार नेपाली पक्षसँग भएको वार्तामा निर्माण कम्पनीले दश लाख रुपैयाँ राहत दिन सहमत भएको हो । सहमति अनुसार निर्माणले दिवंगत बालकका बुवा हिक्मत सिंह महरालाई शनिबार नैै दश लाख रुपैयाँ क्षतिपूर्ति दिएको छ ।
प्रतिक्रिया दिनुहोस्