१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


बस दुर्घटनामा परेकाको तत्काल उपचारको प्रबन्ध मिलाउन प्रधानमन्त्रीको निर्देशन


2.327k
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नवलपरासी पूर्वको बुलिङटार गाउँपालिका–२ मथारमा भएको दुर्घटनाका घाइतेहरूको तत्काल उपचारको प्रबन्ध गर्न निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री देउवाले घाइतेहरूको तत्काल उपचारको प्रबन्ध गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको हो ।

पाल्पाको रम्भा गाउँपालिकाको हुँगीबाट मनकामना जाँदै गरेको ना ६ ख ७५८० नम्बरको बस आइतबार बिहान ४ बजे दुर्घटना भएको थियो ।

दुर्घटनाप्रति दु:ख व्यक्त गर्दै प्रधानमन्त्रीले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, ‘दुर्घटनामा परी ज्यान गुमाएकाहरुप्रति हार्दिक श्रदाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु । घाइतेहरुको तत्काल उपचारको प्रबन्ध गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छु ।’

दुर्घटनामा परी घटनास्थलमै पाँच जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा पाल्पाको रम्भा गाउँपालिका वडा नम्बर १ हुँगीका ४१ वर्षिय तारा विक, १७ वर्षिय विनय विक, ६२ वर्षीया धनी विक, ५८ वर्षीया देवी गाहा र स्याङ्जा गल्याङ– ९ बेलचौरकी ४५ वर्षीया फूलमाया विक रहेको नवलपुरको डेढगाउँ प्रहरी कार्यालयले जनाएको छ ।

उक्त दुर्घटनामा परि ३० जना घाइते भएका छन् । घाइतेमध्ये २४ जनालाई चितवन र ६ जनालाई रामपुर पठाइएको पनि प्रहरीले जनाएको छ ।

पाल्पाको रम्भा गाउँपालिकाका च्याङलिङ, नौगाउँ, गैरी, विसौना र साठी गाउँका स्थानीयहरु दुई वटा बसमा मनकामना दर्शनका लागि गईरहेकोमा एउटा बस पल्टिएको हो । दुर्घटना भएको बसमा विसौना, च्याङलिङ र गैरी गाउँका दशनार्थीहरुको रहेको जनाइएको छ ।

कालिगण्डकी करिडोर अन्तर्गतको निर्माणाधीन सडकबाट एक सय मिटर तल कालिगण्डकी किनारमा खसेको प्रहरीले जनाएको छ ।