
‘लाैराे अभियान’ लाई राजनीतिक दलमा रुपान्तरित गर्दै ‘हाम्राे नेपाली पार्टी’काे जन्म भएकाे छ । हाम्राे नेपाली पार्टीमा इन्जिनियर, डक्टरलगायत विभिन्न पेसामा लागेका युवाहरुकाे जमात रहेकाे छ । अहिले हाम्राे नेपाली पार्टी पनि निर्वाचनकाे तयारीमा जाेडताेडका साथ लागिरहेकाे छ । थापाथली क्याम्पसमा ९ वर्ष प्राध्यापक भएर काम गरेका तथा मध्य पश्मिाञ्चल विश्व विद्यालयमा ५ वर्ष डिन भएर काम गरेपछि राजीनामा दिएर देश बनाउने अभियानका साथ राजनीतिमा होमिनु भएका हाम्राे नेपाली पार्टी नेपालका अध्यक्ष एवं इन्जिनियर अनन्तराज घिमेरेसँग आगामी निर्वाचन केन्द्रित भएर इमेज खबरले गरेकाे कुराकानीकाे सम्पादित अश :
तपाइँहरुको ‘लाैराे अभियान’ भनेकाे के हाे ?
‘लाैराे अभियान’ भनेकाे स्थानीय निकायमा ‘अटेरी अभियान’ले संस्थागत गरेकाे एउटा लाैराे चुनाव चिन्ह हाे । याे चुनाव चिन्हमा अहिले हामीले के गर्याे भने हामी पनि अटेरीकाे एउटा सदस्य हाैँ । र अटेरीले गरेकाे अभियान एउटा के हाे भने देशभरि नै स्वतन्त्र उठेका उम्मेदवारलाई उसले एउटा ग्रुप बनाएकाे थियाे हामी सबैकाे लागि । र स्वतन्त्र उठेकाहरु लाैराे लिनुपर्ने उसकाे एजेण्डा थियाे । स्थानीय चुनावमा अधिकांश स्वतन्त्र उठेका उम्मेदवारले लाैराे चुनाव चिन्ह लिएर निर्वाचन जिते । काठमाडाैंमा बालेन शाह र धरानमा हर्क साम्पाङले निर्वाचन जिते ।
र अहिले आएर साेही ‘लाैराे अभियान’ वा अटेरी अभियानमा लागेका इन्जिनियर, डाक्टर लगायत विभिन्न पेसामा लागेका युवाहरुकाे समुह राजनीतिक दलमा परिवर्तित भएकाे छ । स्वतन्त्र उठेका उम्मेदवारहरुकाे समूहलाई संस्थागत गर्नुपर्छ भन्ने उद्देश्यले ‘लाैराे अभियान’ राजनीतिक दलमा परिवर्तित भएकाे हो । निर्वाचन आयाेगमा लाैराे अभियान दर्ता भएर हाम्राे नेपाली पार्टीकाे नामले नामाकरण भएकाे छ । हाम्राे नेपाली पार्टीकाे लाैराे अभियान हाे । लाैराे अभियानकाे मुख्य उद्देश्य भ्रष्ट नेताहरुलाई एक वर्षभित्र जेल हाल्ने हाे ।
तपाइँहरुको राजनीतिक दर्शन र सिद्धान्त के हो ?
हाम्रो राजनीतिक दर्शन नेपालवाद हो । सिद्धान्त राष्ट्रियता,एकता,मानवता, मौलिकता,आत्मनिर्भरता,स्वाभीमान लगायत हुन् ।
तपाइँहरुले प्रतिनिधि तथा प्रदेशसभाका कति स्थानमा उम्मेदवार उठाउनु भएको छ ?
हामीले प्रतिनिधि सभाका लागि ६२ स्थान र प्रदेश सभाका लागि १ सय भन्दा बढी स्थानमा उम्मेदवार उठाएका छाैँ ।
ती उम्मेदवारले चुनाव जित्लान त ?
हामी विश्वस्त छौं । हाम्रा उम्मेदवारले चुनाव जित्छन् र समानुपातिकमा पनि नेपाली जनताले हामीलाई राष्ट्रिय पार्टी बनाउने गरी मत दिन्छन् भन्ने विश्वास छ ।
लाैराे चुनाव चिन्ह लिएर निर्वाचनमा हाेमिएकाहरू स्वतन्त्र हुन् की पार्टीका नेता हुन् ?
स्वतन्त्र भनेको उ झोलो कार्यकर्ता होइन कसैको दबाबमा रहँदैन उसको केन्द्रविन्दु भनेको देश बनाउने मात्रै हुन्छ भने उसलाई स्वतन्त्र भन्न सकिन्छ । स्वतन्त्र शव्द र हाम्रो नेपाली पार्टी भनेको फरक कुरा हो
जब चुनाब चिन्ह लौरो लिइन्छ भने त्यो हाम्रो पार्टीकै हो । हाम्रो कार्यकर्ता संरचना छैन । हाम्रा कार्यकर्ताहरु उहाँहरु होइन तर उहाँहरू लौरो अभियानमा जोडिनु भएको छ । हाम्रो दलसँग टीकट लिनु भार त्यो हिसाबले मैले स्वतन्त्र भनेको हो ।
तपाइँहरु निर्वाचनका बेला जुर्मुराउनुहुन्छ ? हाम्रा देशका ठूला राजनीतिक दलहरुले ७ दशक भन्दा बढी समयदेखि संघर्ष गरेर संगठन बनाएर यहाँ सम्म आइपुग्दा त उनीहरुलाई अहिले निर्वाचनमा हम्मे हम्मे परेको छ । तपाइँहरुत भर्खर राजनीतिमा आउनु भएको छ सहज छ त निर्वाचन जित्न ?
हामी नेपालको मुहार फेर्न लागेका छौं । नेपाललाई विकसित र समुन्नत बनाउनुपर्छ । हो हाम्रो कार्यकर्ताको रुपमा संगठन छैन, तर स्वतन्त्रहरुको जमात छ । जो नेपाललाई विश्वभर समुन्नत देशको रुपमा चिनाउन हुटहुटीका साथ लागेका छन् ।त्यसकारण पनि हाम्रा उम्मेदवारले जित्छन् ।
तपाइँहरूले निवार्चनका लागि जाेडताेडका साथ लागिरहनु भएकाे छ खै त अहिले सम्म घाेषणा पत्र सार्वजनिक गर्नुभएकाे छैन ?
हामीले १/२ दिनमै घाेषणा पत्र सार्वजनिक गर्छाैँ । र त्याे घाेषणा पत्र हाम्राे नेपाली पार्टीकाे लाैराे अभियानकाे प्रतिबद्दता पत्र हुनेछ । हामीले त्यही प्रतिबद्दता पत्र अनुसार हामी चुनाव जितेर काम गर्छाैँ ।
प्रतिक्रिया दिनुहोस्