२७ चैत्र २०८१, बुधबार | Thu Apr 10 2025


आज हरिबोधनी एकादशी, घर घरमा तुलसीको विवाह गरी मनाइँदै


975
Shares

काठमाडौं । आज शुक्रबार हरिबोधिनी एकादशी, घर घरमा तुलसीको पूजा र विवाह गरी मनाईदैछ ।

असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन रोपिएको तुलसीको आज विवाह गरिदिने धार्मिक चलन रहेको छ ।

हरिबोधिनी एकादशीका दिन भगवान विष्णुको पूजा अर्चनासहित तुलसी विवाह गर्ने गरिन्छ । हरिबोधनी एकादशीलाई वर्षभरिका एकादशीहरूमा सबैभन्दा महत्वपूर्ण मानिन्छ ।

हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्ने गर्दछन् ।

हरिशयनी एकादशीका दिन छिरसागरमा शयन गरेका भगवान विष्णु आज उठ्ने धार्मिक विश्वास पनि छ । भगवान विष्णु शयन गर्ने भएकाले बितेका चार महिनामा विवाह व्रतबन्ध जस्ता माङ्गलिक कार्य गर्न नहुने मान्यता छ ।

हरिबोधिनी एकादशीका दिन भगवान विष्णुले माता तुलसीको प्रार्थना सुनेको र यसै प्रार्थनाको प्रभावले निन्द्राबाट ब्यूँझिएको धार्मिक कथन छ ।

तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको विवाह गर्ने परम्परा बसेको हो ।

आजको दिन अन्न खान नहुने भएकाले सखरखण्ड, पिँडालु र वनतरुल उसिनेर फलाहार गरिन्छ । यसरी व्रत गरेमा पापको नाश भई पुण्य वृद्धि हुने र मोक्ष प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास छ ।

आज काठमाडौं उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायण, काठमाडौंका शेषनारायण र इचँगुनारायण स्थानमा विशेष मेला लाग्दछ । यहाँ जान नसक्नेले काठमाडौंको उत्तरमा रहेका बूढानीलकण्ठ नारायणस्थानको दर्शन गर्दा चार नारायणको दर्शन र पूजा गरे बराबरको फल पाइने विश्वास गरिन्छ ।

आजै देशभरका नारायण मन्दिरमा विशेष पूजा गरी यो पर्व मनाइन्छ ।