१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


के छ तुलसीको महत्व ?


1.365k
Shares

काठमाडौं । आज शुक्रबार हरिबोधिनी एकादशीलाई एक वर्षभरमा पर्ने चौबिसवटा एकादशीहरुमध्ये सबैभन्दा महत्वपूर्ण एकादशीको रुपमा लिने गरिएको छ । आजको एकादशीलाई ठुलो एकादशी पनि भन्ने गरिन्छ ।

कार्तिक शुक्ल एकादशीमा औषधिको गुणयुक्त तुलसीलाई भगवान श्रीहरी अर्थात् विष्णुको पूजा आराधना गरी शुक्रबार देशभर हरिबोधिनी एकादशी पर्व मनाइँदैछ ।

आज एकादशीका दिन घरघरमा रोपेर दिनहुँ पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाइने गरिन्छ । कात्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास रहेको छ ।

बैदिक सनातन संस्कारमा तुलसी पूजाको ठूलो महत्व छ । मानिस मृत्युशैयामा हुँदा प्राण त्याग्नु अघि तुलसीको बोटसँगै राख्नाले तथा तुलसीपत्र खुवाउनाले मरेपछि मोक्ष पाउँछ भनी शास्त्रमा वर्णन गरिएको छ ।

तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्थाका कारण हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउँछन् ।

आदिकालदेखि पूजाको परम्परा बसेको तुलसीको महिमा वैज्ञानिकरूपमा पनि लाभदायक प्रमाणित भएको छ । तुलसीको पातमा पारा धातु भन्ने तत्व रहेको हुँदा यसलाई रोग विनासक औषधि मानिन्छ । तुलसीको पातमा पारा धातु हुने भएकाले यसलाई नचपाई सिधैँ निल्नुपर्ने हुन्छ, चपाएर खाँदा धातु दाँतका लागि हानिकारक मानिन्छ । तुलसीको पात, डाँठ, वा फूलको रस रुघाखोकी र औलो लगायत रोगका लागि औषधि हुन्छ ।

यसको रस शरीरमा लगाएर सुतेमा लामखुट्टेले टोक्दैन । तुलसीको मठ भएको स्थल वरपर विषालु सर्प पनि आउँदैन । कुनै विषालु कीराले टोकेमा तुलसीको पात माडेर लगाउँदा विष कम हुने मान्यताले परम्परागत औषधिको रुपमा यसको प्रयोग हुँदै आएको छ ।

तुलसीबाट बनेको चिया मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न उपयुक्त मानिन्छ । कोरोनाबाट बच्न तुलसीको चिया नियमित सेवन गर्नाले लाभ मिल्ने पनि चिकित्सकहरू बताउँछन् ।

सबैखाले यौनदुर्बलताको उपचारदेखि लिएर क्यान्सरबाट छुटकारा पाउनसमेत तुलसी अत्यन्त लाभदायक भएको प्रयोगद्वारा सिद्ध भइसकेको छ ।

यही अपार लाभकै कारण तुलसीलाई मानिसले भगवानको दर्जा दिएको भन्न सकिन्छ । श्वासको दुर्गन्ध हटाउन, घाँटीको दुखाइ कम गर्न, श्वाससम्बन्धी अन्य समस्याका उपचारका लागि, मुटुरोग, तनाव कम गर्न र संक्रमण तथा छालारोग लाई पनि तुलसीले निवारण गर्ने गर्दछ ।