
डि.शर्मा
म्याग्दी । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनलाई सफल गराउन मिडियाकाे भूमिकाकाे विषयमा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
जिल्ला निर्वाचन कार्यालयको आयोजनामा बेनीमा भएकाे अन्तरक्रिया कार्यक्रममा मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित, निष्पक्ष र मितव्ययी बनाउने सत्य-तथ्य समाचार सामग्री सम्प्रेषण गराउन संचारकर्मीलाई ध्यानाकर्षण गराउनुभएकाे हो । साेही कार्यक्रममा उहाँले आगामी निर्वाचन सफल बनाउन महत्वपूर्ण भूमिका मिडियाको भएकाे बताउनुभयाे ।
मुख्य निर्वाचन अधिकृत नेपालले निर्वाचन आचारसंहितालाई पूर्ण रुपमा कार्यान्वयन गरी निर्वाचनलाई सफल बनाउन निर्वाचन सम्बन्धी सकारात्मक सन्देश प्रवाह गर्न गराउन संचारकर्मीलाई आग्रह गर्नुभयाे । उहाँले निर्वाचनले राज्य सत्ता संचालनमा सक्षम नेतृत्व निर्वाचित गराउनका लागि आम मतदाताको मत महत्वपूर्ण भएकाे बताउनुभयाे ।
जिल्ला निर्वाचन अधिकारी भिमप्रसाद घिमिरेले राजनीतिक दल, सार्वजनिक पद धारणा गरेको, मतदाता शिक्षा कार्यक्रमा सहभागी भएका कर्मचारी, सरकारी तथा गैरसरकारी निकाय वा सार्वजनिक संस्था र संचार माध्यम लगायतलाई निर्वाचन आचारसंहिता पालना गर्न आग्रह गर्नुभएकाे छ । आगामी मंसिर ४ गते हुने निर्वाचनमा म्याग्दीमा ८६ हजार १ सय २० जना मतदाता रहेका छन् । ८२ वटा मतदान स्थल र १ सय १९ वटा मतदान केन्द्र रहेका छन् ।
नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष प्रकाश पौडेलले निर्वाचमा मिडिया र पत्रकारको भूमिकाकाे विषयमा जानकारी गराउनुभएकाे थियाे ।
प्रतिक्रिया दिनुहोस्