
काठमाडौं । निर्वाचनमा बदर हुने मतको संख्या घटाउन पाल्पामा नमुना मतदान गरिएको छ ।
मतदाता शिक्षाको अभावमा बदर हुन सक्ने मतको संख्या न्यूनीकरण गर्ने उद्देश्यले जिल्लाको तानसेन १४ स्थित अर्गलीमा नमुना मतदान गरिएको हो । नमुना मतदानबाट मतदातालाई मत कसरी खसाल्ने र कसरी सही मत खसाल्न सकिन्छ भन्ने जानकारी दिइएको निर्वाचन कार्यालय पाल्पाले जनाएको छ ।
नमुना मतदानमा ३५ पुरुष तथा २४ जना महिला मतदाता सहभागी थिए । नमुना मतदानबाट निर्वाचनमा सहभागी हुँदा मतदाताले अपनाउनुपर्ने आचारसंहिता, मतदान स्थलमा प्रवेश गर्ने तरिका, बाहिर निस्कने तरिका, मतपत्रको संख्याका बारेमा समेत जानकारी दिइएको जिल्ला निर्वाचन अधिकारी रुक्मांगत अर्यालले जानकारी दिनुभयो ।
नमुना मतदान जिल्लाको अन्य स्थानमा समेत सञ्चालन गर्ने तयारी भइरहेको छ । पहिलो चरणको नमुना मतदानमा जेष्ठ नागरिक, महिला अशक्त व्यक्तिको सहभागिता रहेको थियो । नमुना मतदान गरेपछि मतदाता शिक्षा समेत प्रभावकारी बन्ने अपेक्षा गरिएको छ ।
गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पाल्पामा पाँच प्रतिशत बढी मत बदर भएको थियो । यस पटक स्थानीय तहमा भन्दा बदर मत कम हुने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्