२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


‘सुकुम्बासी भोट औजारको रुपमा प्रयोग हुँदै : लिङ्देन


286
Shares

नवलपरासी । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला राजनीतिक दलले सुकुम्बासी र नागरिकता समस्यालाई सधैं भोट माग्ने औजारका रुपमा प्रयोग गरेको बताउनुभएको छ ।

आज नवलपरासी निर्वाचन क्षेत्र नं २ को चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले राज्यसत्तामा बस्दा समस्या समाधानमा नलाग्ने तर चुनावको बेला सुकुम्बासी र नागरिकता समस्या देखाई जनतालाई झुक्काएर भोट माग्ने गरेको आरोप लगाउनुभयो ।

ठूला दलकै कारण मुलुकको राष्ट्रियता र अर्थतन्त्र बर्बाद भएको बताउँदै उहाँले बर्बादीको बाटो रोक्ने उपाय मतदान भएकाले एक पटक ‘हात र भोट’ परिवर्तन गर्न मतदातालाई आग्रह गर्नुभयो ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस सभापति शेरबहादुर देउवालाई जति पटक प्रधानमन्त्री बनाए पनि देशलाई कुनै फाइदा नहुने टिप्पणी गर्नुभयो । पाँच पटक प्रधानमन्त्री हुँदा देशलाई केही गर्न नसकेका देउवालाई छैठौंपटक प्रधानमन्त्री बनाएर के हुन्छ भन्दै उहाँले प्रश्न गर्नुभयो ।

माओवादी र कांग्रेसको गठबन्धनबाट देशले मुक्ति चाहेको र त्यसको नेतृत्व गर्न आफ्नो दल आएकाले निर्धक्कसँग हलोमा मतदान गर्न उहाँले अपिल गर्नुभयो । कांग्रेस र कम्युनिष्टहरुले विगत ३० वर्षको अवधिमा देशलाई बेरोजगार उत्पादन गर्ने थलो बनाएको उहाँको आरोप छ ।