२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


काठमाडौं-२ मा राप्रपाको घरदैलो कार्यक्रम


637
Shares

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चुनावी प्रचारप्रसारलाई तीब्र बनाएकाे छ ।

राप्रपा की नेतृ तथा काठमाडौं क्षेत्र नं. २ की प्रतिनिधि सभा सदस्य उम्मेदवार कुन्ति पोखरेलले विकास, समृद्धि र राष्ट्रियताका लागि आफ्नो पार्टीले जित्नुपर्ने बताउनुभएको हाे । आज आइतबार काठमाडौं-२ मा घरदैलोका क्रममा नवदुर्गा टोल सुधार समितिले गरेको स्वागत कार्यक्रममा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे ।

उहाँले विकास र समृद्धिका लागि राप्रपाले जित्नै पर्ने बताउनुभएको छ । उहाँले राष्ट्र र राष्ट्रियताको लागि पनि आफूहरुले जित्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । नेतृ पोखरेलले आफूलाई हार र जितको मतलव नभएको भन्दै आगामी ५ वर्ष काठमाडौं-२ का जनताका लागि काम गर्ने बताउनुभयो ।

उहाँले आफूले काम गरेरै छाड्ने र चुनाव पनि जित्ने दावी गर्नुभयो । त्यस्तै काठमाडौं क्षेत्र नं. २ प्रदेश सभा (ख) का प्रदेश सभा सदस्य उम्मेदवार राजु विष्टले आफूहरुको जित सुनिश्चित भइसकेको दावी गर्नुभयो । उहाँले सनातन हिन्दु धर्म जोगाउनका लागि राप्रपाको चुनाव चिन्ह हलोमा मतदान गर्न आग्रह गर्नुभयो ।

राप्रपाले क्षेत्र नं. २ मा घरदैलो तीब्र पारेको छ । आइतबार घरदैलोमा भेटिएका नेता, कार्यकर्ता तथा मतदाता उत्साहि देखिएका छन् । पर्चा, पम्प्लेट बाड्दै तथा चुनाव चिन्ह हलोमा भोट माग्दै टोल टोलमा राप्रपाका उम्मेदवारहरु पुगिरहेका छन् । क्षेत्र नं. २ मा भेटिएका मतदाताहरुले यसपालि मतदाताहरुले भोट परिवर्तन गर्नुपर्ने बताएका छन् ।

उनीहरुले हिन्दु राष्ट्र कायम गराउनका लागि राष्ट्रवादीहरुको जित हुनुपर्ने तर्क गरेका छन् । घरदैलोको क्रममा भेटिएका स्थानीय मतदाताहरुले हार जित जे भएपनि राप्रपालाई भोट हाल्ने बताएका छन् । पुराना राजनीतिक दललाई धेरै पटक हेरिएको भन्दै यसपटक भने नयाँ उम्मेदवारलाई जिताएर हेर्ने उनीहरुकाे भनाइ छ ।