
काठमाडौं । रामबाबु गुरुङद्वारा निर्देशित चलचित्र ‘फूलबारी’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । चलचित्रको निर्माता मनिष ढकालको जन्मदिनको अवसर पारेर चलचित्रको पोस्टर सार्वजनिक गरिएको निर्देशक गुरुङले जानकारी दिएका छन् ।
आगामी फागुन ५ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रको सार्वजनिक पोस्टरमा मुख्य कलाकार विपिन कार्की, दयाहाङ राई, प्रियंका कार्की, अरुणा कार्की, शिल्पा मास्के, गौमाया गुरुङलाई स्थान दिइएको छ । यशोदा फिल्मस्को ब्यानरमा निर्माण भएको समाजिक नेपाली चलचित्रको कथा र कन्सेप्ट कमल किशोर मलपानीको रहेको छ ।
अभिभावक र सन्तान बीचको सम्बन्धको कथामा चलचित्रले नेपाली समाजमा सबैले भोगिराखेकै पारिवारिक सामाजिक कथा निर्देशक गुरुङले पस्किएका छन् । उपेन्द्र सुब्बाको पट कथामा विपिन र अरुणाले पाका दम्पतीको भूमिका निर्वाह गरेका छन् ।
मनिष ढकाल निर्माता रहेको चलचित्रमा लोकेन्द्र लेखक, सोमनाथ खनाल, अनुपम शर्मा, मनिष ढकाल, साक्षी सिंह भण्डारी, रुजा राउत, रुपेश दाहाल, सुमित्रा गोम्जा, कायरा कार्कीलगायतको पनि अभिनय रहनेछ ।
जोस हेरुमको छायांकन, कालीप्रसाद बाँस्कोटा र अनुपम शर्माको संगीत रहेको चलचित्रमा मणिराम पोखरेलले कार्यकारी निर्माता रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्